यौन दुराचार अभियोगमा अमेरिकी पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं।

आर्थिक प्रलोभन र विभिन्न खानेकुरा दिएर नेपाली बालबालिकालाई यौन शोषण गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
सिनामंगलमा रहेको मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा बस्दै आएका अमेरिकी नागरिक जासोन लोड्डी मोडेलाई ३ जना बालकालिका राखेर यौन क्रियाकलाप गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले जासोनलाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा कारबाही अगाडि बढाएको जनाएको छ।
प्रहरीले जासोनको कोठाबाट ३ थान अमेरिकी पासपोर्ट, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी भएको आईडी कार्डलगायतका विभिन्न सामग्री बरामद गरेको सीआईबीले जनाएको छ।

यौन दुराचार अभियोग लागेका जासोनबाट कोही पीडित भएको भए तत्काल खबर गर्नसमेत प्रहरीले आग्रह गरेको छ। लामो समयदेखि नेपाली भाषा अध्ययन गर्ने नाममा नेपाल बस्दै आएका जासोनले बालबालिकालाई आर्थिक प्रलोभनमा पारेर यौन दुराचार गर्ने गरेको दाबी प्रहरीले गरेको छ।

प्रतिक्रिया दिनुहोस्