विवादित नेपाल ईन्जिनियरीङ्ग कलेजको नयाँ संचालक समिति गठन गर्ने निर्णय



पुष्कर बुढाथोकी, भक्तपुर ।

शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणमा संचालित बिवादित नेपाल ईन्जिनियरीङ्ग कलेजको नयाँ संचालक समिति गठन गर्ने निर्णय गरेको छ ।मन्त्रालयमा शिक्षामन्त्री गिरीराजमणी पोखरेलको नेतृत्वमा सोमबार भएको छलफलबाट चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति गठन गर्ने निर्णय भएको हो ।

संचालक समितिको बिवादका कारण कलेज संचालनमा नकारात्मक असर परी कलेजको आर्थिक ,प्रशासनिक तथा पठनपाठनमा समेत बाधा पर्न गएकाले पछि अदालतबाट प्राप्त फैसला बमोजिम हुने गरी तत्काललाई यो निर्णय गरिएको मन्त्रालयका उपसचिब लक्ष्मीकुमार खड्काले बताउनुभयो ।

समितिको सदस्यमा सहायक प्रमुख जिल्ला अधिकारी,पोखरा बिश्व बिद्यालयका ईन्जिनियर कलेजका प्रिन्सीपल लगायत सदस्य रहेका छन् । यससँगै कलेज सञ्चालक समूहबाट लम्बोदर न्यौपाने समूह बाहिरिएको छ ।संस्था दर्ता ऐन २०३४ बमोजिम जिल्ला प्रशासन कार्यालय भक्तपुरमा २०६० भदौ ४ गते दर्ता भएको उक्त कलेजको प्रकति र स्वामित्वका बिषयमा संचालकबीच बिवाद उत्पन्न हुँदै आएको छ ।

बिवादबारे अदालतमा लामो समयदेखि मुद्धा सुनुवाईको प्रकृयामा रहेको छ ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अदालतबाट आउने निर्णयलाई मान्ने गरी हाललाई संसदीय समितिको सिफारिसअनुसार कलेजलाई स्थानीय सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

मन्त्रालयमा शिक्षामन्त्री पोखरेलसँग भएको सरोकारवालासँगको बैठकमा कलेज संचालन मोडालिटीबारे छलफल भएको बताउँदै नगरप्रमुख मिश्रले पोखरा बिश्वबिद्यालय र नगरपालिकाले सहकार्य गरी संयुक्त महाबिद्यालयको रुपमा कलेज संचालन गर्ने निर्णय भएको बताउनुभयो ।

इन्जिनियरिङको पढाइमा अब्बल यो कलेजमा पछिल्लो समय सञ्चालकहरुबीच विवाद चर्किएको थियो । कलेजको सम्पत्ति हत्याउन लम्बोदर न्यौपाने र अर्को समूहबीच विवाद मिलाउने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले घुस समेत लिएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्