एप्पलले ल्याउँदैछ अहिलेसम्मकै सस्तो आइफोन



आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो । त्यसअघि एप्पलले सामान्यतया हरेक अघिल्लो मोडेल नम्बरमा एक अंक थप गर्दै नयाँ मोडलको आइफोन बजारमा ल्याउने गरेको थियो । सोही अनुसार आइफोन एट पछि आइफोन नाइनको पालो थियो । तर एप्पलले आइफोन ८ पछि उसले एकैचोटी आइफोन एक्स लञ्च गर्‍यो ।

यसको अर्थ बजारमा आइफोन नाइन नामको कुनै पनि आइफोन उपलब्ध छैन । तर निकट भविष्यमै यो कमी हट्ने भएको छ । अर्थात् एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ ।

समाचार अनुसार एप्पलले अहिले सम्मकै सस्तो मूल्यको आइफोन बजारमा ल्याउँदैछ र त्यसको नाम आइफोन नाइन हुने बताइएको छ ।

एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम आइफोन एसइटू हुने बताइएको थियो । तर पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको हो ।

समाचार अनुसार नयाँ डिभाइसको डिजाइन चाहीँ आइफोन ८ को जस्तै हुनेछ । यद्यपि यसको आन्तरिक डिजाइन चाहिँ आइफोन ११ सिरिजबाट प्रभावित हुने बताइएको छ ।

प्रविधिसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४।७ इन्चको एलसिडी डिस्प्ले हुनेछ । जसमा टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ ।

समाचारअनुसार यो आइफोनमा ३।५ एमएमको हेडफोन ज्याक हुनेछैन ।

सस्तो मूल्यमा एप्पलको सबैभन्दा पछिल्लो सफ्टवेयरयुक्त आइफोन चलाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी एप्पलले आइफोन नाइन बजारमा ल्याउन लागेको बताइएको छ ।

समाचार अनुसार आइफोन नाइनमा ए १३ बायोनिक चिप रहनेछ जुन एप्पलको आइफोन ११ मा रहेको छ । साथै आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १३ हुनेछ । यो आइफोनमा ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ ।

एप्पलले सन् २०२० को पहिलो त्रैमासिक भित्र नै आइफोन नाइन सार्वजनिक गर्ने अनुमान गरिएको छ । यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने बताइएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्