सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली’



नेपाल समाचारपत्र, बैतडी।

सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै बैतडीको दोगडाकेदार गाउँपालिकाले सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली’ वितरण कार्य शुरू गरेको छ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई कोशेली हस्तारणपश्चात कोशेली वितरण कार्य शुरू गरेको हो।

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसर पारी मंसिर १९ गतेदेखि शुरू भएको कोसेली वितरण कार्य जारी रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो।

दोगडाकेदार गाउँपालिका–५ न्वालीकी सुत्केरी महिला द्रोपती कार्कीलाई कोसेली वितरण गरेर उक्त कार्यको सुरुवात गरिएको थियो।सुत्केरीले उपाध्यक्षको कोसेली पाउँदा खुसी व्यक्त गरेको न्वाली स्वास्थ्यचौकी इञ्चार्ज नैन सिंह गोयलाले जानकारी दिनुभयो।

उपाध्यक्षको कोसेलीमा दाल, साबुन, सोडा, ज्वानो, तोरीको तेल, सेनेटरी प्याडसहितको झोला सुत्केरीलाई उपहार दिइने गरिएको इञ्चार्ज गोयलाले बताउनुभयो।

सरसफाई र पोषणमा सुधार गर्नका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्न लागिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो।

गाउँपालिका भित्र रहेका ४ सय २५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरणका लागि ४ लाख २० हजार रुपियाँ रकम विनियोजन गरिएको छ।

दोगडाकेदार गाउँपालिकाका–४, ५ र ८ यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका छन् भने अन्य वडाहरू पनि पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्