एक सय बिल तिर्न एक हजार बढी खर्च



नेपाल समाचारपत्र, डोटी।
सुन्दा अचम्म लाग्न सक्छ, डोटी जिल्लाका धेरै ग्रामीण भेगमा बसोबास गर्ने नागरिकले न्यूनतम विद्युत् महसुल तिर्न एक हजार पाँच सय रुपियाँ खर्च गर्नुपरिरहेको छ। जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलभन्दा टाढा बसोबास गर्ने नागरिकले यस्तो समस्या भोग्दै आएका छन्।
नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा विद्युत् महसुल बुझाउन जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ जमलकटिया, वाईल, बासुदेवी, झिगावस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट उपभोक्ता आउने गरेका छन्।
विद्युत्को न्यूनतम मूल्य तिर्न आउँदा करिब एक हजार पाँच सय खर्च हुने गरेको आदर्श गाउँपालिकाका बाझकाकाँनीका स्थानीय नरेश खड्काले बताउनुभयो।
‘हामी त अलि नजिक छौँ, दहकालिका, खातिवडालगायतका गाउँका जनताले त रु तीन सयसम्म गाडी भाडा तिरेर महसुल बुझाउन आउनुपर्छ, खड्काले भन्नुभयो– ‘त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पाइएन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ।’
त्यस्तै सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंहले गाउँमा टिभी पनि छैन, फ्रिज हुँदैन, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महसुल कम आउँछ, कसैको त एक सय रुपियाँसम्म पनि पुग्दैन।
त्यही रकम तिर्न एक हजार पाँच सय भन्दा बढी रुपियाँ खर्च गर्नुपरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दिपायल आउँथ्यौँ, अहिले सबैकुरा गाउँमै पाइन्छ, फोटकमा एक सय रुपियाँ तिर्न एक हजार बढी खर्च गरेर आउनुपर्छ।’
गाउँमा बैंकिङ सेवा विस्तार भएका छन्, विभिन्न बैंकका शाखा खुलेका छन्, त्यसमार्फत समेत महसुल बुझाउन सहज बनाउन सकिन्थ्यो, तर विद्युत् प्राधिकरणले त्यसतर्फ ध्यान नदिँदा धेरै जनताले दुःख भोग्नुपरेको केआईसिंह गाउँपालिका–५ का स्थानीय शेरेन्द्र विक्रम शाहीले बताउनुभयो।
उहाँले भन्नुभयो– ‘गाउँपालिकामा विभिन्न बैंकका शाखा खुलेका छन्, अब विद्युत् महसुल पनि त्यहीबाट बुझाउने व्यवस्था मिलाए जनतालाई सहज हुने थियो।’
उता नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशीले डोटीका ग्रामीण भेगमा तत्कालै विद्युत् महसुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताउनुभयो।
‘गाउँघर टाढा छन् र हामीसँग कर्मचारी अभाव रहेकाले तत्काल विद्युत् महसुल बुझाउने काउन्टर खोल्न समस्या देखिन्छ।’ ग्रामीण भेगमा रहेका बैंकिङ सेवा दिइरहेका बैंकमार्फत महसुल बुझाउने व्यवस्था गरे सहज हुने देखिएकाले यस विषयमा विचार गरिने प्रमुख जोशीले बताउनुभयो। विद्यु्त् महसुल बुझाउन दिपायलस्थित पिपल्लामा रहेको विद्युत् काउन्टरमा दैनिक जसो सेवाग्राहीको भिड लाग्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्