फेरि नेपाल भारतसँग पराजित



विजय नेपाली, पोखरा।

नेपाली महिला फुटबल टोलीले जारी १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) महिला फुटबलमा रजत पदकमा चित्त बुझाएको छ।पोखरा रंगशाला फुटबल मैदानमा भएको फाइनल खेलमा भारतसँग २–० गोलले हार्दै नेपाल स्वर्ण जित्नबाट वञ्चित भएको हो।

नेपालकी स्ट्राइकर सावित्रा भण्डारीको भरमा खेलेको नेपालले केही अवसर प्राप्त गरे पनि सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो।खेलको १८ औ मिनेटमा भारतकी बाला देवीले वानटच गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यस्तै उनले खेलको ५५ आंै मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरेकी हुन्।

मुख्य प्रशिक्षकको राजिनामा

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले मुख्य प्रशिक्षकबाट राजिनामा दिएका छन। १३औं सागअन्तर्गत् फुटबलमा भारत सँग २–० गोलले हारेसँगै प्रशिक्षक खड्काले राजिनामा दिएका हुन।

मुख्य प्रशिक्षक खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिदैँ नैतिकताको आधारमा मुख्य प्रशिक्षकबाट टाढा रहने उनले बताए।

‘प्रशिक्षको रूपमा त मैले दुइ पटकसम्म निर्वाह गरेको हो, अखिल नेपाल फुटबल संघ एन्फाले दुईपटक सम्म राख्यो तर नैतिकताको आधारमा पनि एउटा लक्ष्य लिएर हिडेको मान्छे, लक्ष्य पुरा गर्न नसकेपछि मैले आजकै दिनदेखि नेपाली राष्ट्रिय महिला फुटबलको प्रशिक्षकबाट राजिनामा दिन्छु।’

मुख्य प्रशिक्षक खड्काले भने– ‘मुख्य प्रशिक्षकबाट टाढा हुन्छु तर फुटबलको विकासमा प्रमुख भएर भने बस्छु।’

२ खेलाडीद्वारा सन्यास घोषणा

ऐतिहासिक स्वर्ण पदक जित्नबाट चुकेसँगै नेपालका दुई महिला खेलाडीले पनि सन्यास घोषणा गरेका छन्।

निरु थापा र मनमाया लिम्बुले सन्यास घोषणा गरेका हुन्। उनीहरूले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरे।

अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि राष्ट्रिय प्रतियोगितामा भने खेल्ने उनीहरूले बताएका छन्।

सन्यास लिएका थापा र लिम्बुलाई मदन भण्डारी फाउण्डेसनको तर्फबाट राखेप सदस्य राजेशकुमार गुरुङले आधा तोला सुन र ४ तोला चाँदी जडित ट्रफी दिंदैसम्मान गरेका थिए।

आर्चरीमा नेपाललाई एक रजत

१३औं साग अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्दा नेपालको हातमा एक रजत र २ काँश्य पदक परेको छ। नेपालले कम्पाउण्ड (५० मिटर) मिक्सतर्फ रजत पदक प्राप्त गरेको हो।

नेपालले १२औं सागमा आर्चरीमा १ काँश्य जितेको थियो। खेल सामाग्री समयमै उपलब्ध हुन नसक्दा सोचे अनुरूप स्वर्ण पदक ल्याउन नसकिएको नेपालका प्रशिक्षक वसन्त थकालीले बताए।

उता बंगलादेशका प्रमुख प्रशिक्षक मार्टिनले आफुहरूले सागको लागि ६ महिना देखि बन्द प्रशिक्षण गरेको धेरै मेहनत गरेकोले उत्कृष्ट नतिजा आएको बताए।

प्रतिक्रिया दिनुहोस्