प्रम ओलीद्वारा प्याकेज घोषणा हुने १४औं साग पाकिस्तानमा



नेपाल समाचारपत्र, काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीका लागि प्रोत्साहन प्याकेजको घोषणा बुधबार गर्नुहुने भएको छ।

मंगलबार करिब डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियोमार्फत् सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। सोको जानकारी सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले जानकारी गराउँनुभयो।

उहाँका अनुसार समापन समारोह अघि १२ बजे सांसद ११ र राष्ट्रसेबक कर्मचारी ११ बीच मैत्रीपूर्ण फुटवल हुनेछ।यसपछि सागअन्तर्गत् पुरुष फुटवलको फाईनल हुनेछ। जसमा नेपालले र भुटानसँग खेल्नेछ।

सोही समारोहकै अवसरमा १४औं साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ। त्यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई प्रवद्र्धन गर्ने गरी विशेष कार्यक्रम प्रस्तुत गरिने पनि सदस्यसचिव सिलवालले जानकारी गराउनुभयो।

फाइनलमा महँगो टिकट

नेपाल र भुटानबीचको फाईनल खेलको टिकट निकै महँगो गरिएको छ। भिआईपी दर्शकका लागि २ हजार र साधारण प्याराफिटका लागि १ हजार रुपियाँको मूल्य तोकिएको हो।

यसको बावजुद ती टिकटहरू बिक्री भैसकेका छन्। हिजै फुटबल फाइनलको टिकट नपाएका दर्शकले आयोजकविरुद्ध नाराबाजी गरेका थिए।

एक दर्शकले टिकट छिटै सकिएकोमा आक्रोश व्यक्त गरेका थिए। उनले नेपाल समाचारपत्रलाई बताए—कसरी छिटै सबै टिकट बिक्री भएको हो, त्यो बुझ्न सकिएन। यो सबै पैसा कमाउने दाउ हो।

जुडोमा थप स्वर्ण

१३औं सागअन्तर्गत जुडोमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी छिन्। लगनखेलस्थित आर्मीको कभर्डहलमा महिला ७८ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन्।

अन्य नेपाली खेलाडी भने रजत र कांँश्यमा सीमित भएका छन्। महिला ७० केजी तौल समूहमा विनिता मगर र ७८ केजी माथि आकृति जोशीले रजत जिते।

पुरुषतर्फ ९० केजी तौल समूहमा श्रीराम मकाजू, १ सय केजी तौल माथिमा राजन जोशी र १ सय केजी मुनि रमेशबहादुर चन्दले कास्य जिते।

फेन्सिङमा नेपाललाई थप दुई रजत

जारी १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले सोमबार दुर्ई रजत पदक जितेको छ। नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो।

योसँगै नेपालले फेन्सिङमा ४ रजत र ६ काँश्य गरी १० पदक जितेको छ। सोमबार दूवै प्रतिस्पर्धामा नेपाल भारतसँग पराजित भयो।

फेन्सिङमा भारतले कुल १२ मध्ये ११ स्वर्णसहित ५ रजत र १ काँश्य पनि हात पार्यो। दोस्रो स्थानमा रहेको बंगलादेशले एक स्वर्ण, तीन रजत र सात काँश्य जित्यो।

कबड्डी : नेपाललाई पहिलो रजत

१३औं सागअन्तर्गत कबड्डीको महिला प्रतिस्पर्धामा नेपाल रजतमै सीमित भएको छ। हल्चोकस्थित एपीएफको मैदानमा नेपाल भारतसँग ५०–१३ ले हारेको थियो।

तर यो नेपालको साग कबड्डीमा पहिलो रजत पदक हो। सो खेलमा भारत दूवैविधामा च्याम्पियन बनेको छ।

पुरुष क्रिकेट: नेपाललाई काँश्य

१३औं साग अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले काश्य पदक जितेको छ। सोमबार त्रिवि मैदानमा भएको काँश्य पदकको लागि खेलमा नेपालले माल्दिभ्सलाई ५ विकेटले हराएको हो।

माल्दिभ्सले दिएको ९५ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो। स्वर्ण भिडन्तमा भने बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गर्यो।

बास्केटबलमा नेपाल फाइनलमा
सागअन्तर्गत महिला बास्केटबलमा नेपाल सोमबार फाइनलमा प्रवेश गरेको छ। नेपालले माल्दिभ्सलाई ६८–५५ ले पराजित गर्यो। नेपालकी अनुषा मल्लले १९ अंक जोडिन्।

प्रतिक्रिया दिनुहोस्