बक्सिङमा २ दशकपछि नेपाललाई २ स्वर्ण



कविरस शर्मा, काठमाडौं।

जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत् बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक जित्न सफल भएको छ।सोमबार भएको खेलमा नेपालका मिनु गुरुङ र भूपेन्द« थापा मगरले स्वर्ण जितेका हुन्।

महिला ५४ केजीको फाइनलमा मिनुले भारतका शिक्षालाई पराजित गर्दै स्वर्ण जितेका हुन्। उनले युनानोमस डिसिजनको आधारमा जित्दै स्वर्ण चुमेकी हुन्। श्रीलंकाकी सजीवनी मुथुथान्तथ्री पताबेन्डिगे र बंगलादेशका ओनिता इस्लामले काँस्य जिते।

 

त्यस्तै ६४ केजीको फाइनलमा नेपालका भूपेन्द्रले पनि सागको पुरुष बक्सिङमा २० वर्षपछि पहिलो पटक नेपाललाई स्वर्ण पदक दिलाउन सफल भए। उनले भारतका मनिष कौशिकलाई अङ्कको आधारमा हराउँदै साग बक्सिङमा २ दशक लामो स्वर्णको खडेरीलाई समाप्त पारेका हुन्।

यसअघि सन् १९९९ मा नेपालमा नै सम्पन्न सागको आठौं संस्करणमा नेपालका लागि दुई दाजुभाई रामचन्द्र थापा मगर र प्रकाश थापामगरले स्वर्ण जितेका थिए। काँश्य भने बंगलादेशका अल अमिन मोहमद र श्रीलंकाका दिनिदु दु पोन्ननविला भिडानालागेले प्राप्त गरे।

सोमबार भएको ८ वटा तौल समूहको फाइनलमा भारतीय मुक्केबाजहरूको वर्चश्व रह्यो। महिला ४८ केजीतर्फ कलाईभानी श्रीनिभासनले नेपालकी ललिता महर्जनलाई स्पिलिट डिसिजनको आधारमा हराउँदै स्वर्ण चुमिन्। हारसँगै ललिताले रजत पदक प्राप्त गरिन्।

काँश्य भने भुटानका ल्हामो टान्डिन र नाडिका पुष्प रनसिंघे अराचिगेले प्राप्त गरेका थिए।त्यस्तै महिला ६० केजीमा नेपालकी संगीता सुनार पनि भारतीय बक्सरसँग स्पिलिट डिसिजनको आधारमा पराजित भइन्। हारसँगै संगीताले रजत पदक जितिन। काँस्य भने श्रीलंकाकी केशानी हंसिकाले प्राप्त गरिन्।

यसैगरी पुरुष ४९ केजीको फाइनलमा भारतका विनोद तनवरले भूटानका टाशी वांग्दीलाई हराउँदै स्वर्ण हात पारे। हार बावजुद भूटानले जारी सागमा पहिलो रजत पदक जित्न सफल भयो। काँस्य भने नेपालका सुशील थापामगर र बंगलादेशका होसेन मोहमद सोजिबले प्राप्त गरे।

५६ केजीको फाइनलमा भारतका सचिनले बंगलादेशका मोहमद रोबिन मियालाई अङ्कको आधारमा हराउँदै स्वर्ण हात पारे। काँस्य भने पाकिस्तानका नकिबुल्लाह र नेपालका पूरन राईले जिते।

यस्तै पुरुष ७५ केजीमा भारतका अंकित खतानाले स्वर्ण जितेका छन्। फाइनलमा उनले श्रीलंकाका दिनेश मदुरंगा पाथिरागे दन अंकको आधारमा हराए। पाकिस्तानका हसन महमूद उइ र बंगलादेशका होसेन मोहमद आरिफले काँश्य प्राप्त गरे।

९१ केजीको फाइनलमा भारतका गौरव चौहानले पाकिस्तानी बक्सर सनाउल्लाहलाई हराउँदै स्वर्ण पदक हासिल गरे। काँश्य भने नेपालका अर्जुन सिगुले प्राप्त गरे।

महिला तथा पुरुष गरी सोमबार सम्पन्न आठ तौलको अन्तिम नतिजाअनुसार भारत ६ स्वर्ण, २ रजत र १ काँश्य सहित अग्रस्थानमा रहेको छ। नेपाल २ स्वर्ण, २ रजत र ३ काँश्यसहित दोस्रो स्थानमा छ।

यस्तै श्रीलंकाले १ रजत र ४ काँश्य , बंगलादेशले १ रजत र ४ काँश्य, पाकिस्तानले १ रजत र २ काँश्य तथा भूटानले १ रजत र १ काँश्य जितेका छन्। मंगलबार अन्तिम दिन हुने अन्य आठ वटा बाउटपछि मात्र टिम च्याम्पियनको घोषणा हुनेछ।

प्रतिक्रिया दिनुहोस्