‘बिग मर्जर’ हुँदा अर्थतन्त्रलाई खतरा



परिवर्तन देवकोटा, काठमाडौं।

नेपाल राष्ट्र बैंकको बैंकको संख्या घटाउने लक्ष्यअनुरूप बैंकहरू मर्जरतर्फ लागेका छन्। जनता बैंक नेपाल र ग्लोबल आइएमई बैंकले एकआपसमा मर्ज गरी एकीकृत कारोबार शुरू गरेसँगै अन्य बैंकहरू पनि मर्जरको तयारीमा छन्।

बैंकहरू यसरी मर्जरमा लागिरहँदा कतिपयले अबको अर्थतन्त्र ठूला व्यापारीको हातमा जाने हो कि भन्ने शंका पनि व्यक्त गर्न थालेका छन्। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षत्रीले बैंकहरूको मर्जर हुनु सकारात्मक भए पनि केही जोखिम भने निस्कने बताउनुभयो।

उहाँले बैंकहरूको संख्या थोरै हुँदा नीति निर्देशनमा सहज हुने बताउँदै निर्देशन कायम गर्न पनि सहज हुने उल्लेख गर्नुभयो।नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले केही बैंक मर्जरमा जाँदा अन्य बैंक पनि त्यस्तो प्रतिस्पर्धामा जान सक्ने बताउँदै केही समयपछि पुनः त्यो प्रतिस्पर्धा साम्य हुने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो–‘प्रतिस्पर्धा हुन्छ नै तर, यो केही समयका लागि मात्रै हो, पछि साम्य पनि हुन्छ।’उहाँले बैंकले दूरदराजमा पनि शाखा सञ्चालन गर्नुपर्ने बताउँदै राष्ट्र बैंकले दूरदराजमा बैंक जान नमानेमा बाध्यकारी निर्देशिका ल्याएर भए पनि पठाउनुपर्ने बताउनुभयो।

उहाँले साना ऋणीहरूलाई बैंकले कसरी समेट्ने भन्ने कुरा पनि महत्वपूर्ण हुने बताउँदै ठूला बैंकको नाफामुखी योजनाले सोझा लगानीकर्ता भड्खालोमा पर्ने सम्भावना उत्तिकै रहेको उल्लेख गर्नुभयो।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकहरूबीच मर्जरको होडबाजी नै चलेमा भविष्यमा अर्थतन्त्र धरापमा पर्न सक्ने बताउनुभयो। नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले निजी क्षेत्रका बैंकहरूबीच मर्जरको प्रतिस्पर्धा चल्न थाले वित्तीय जोखिम आउन सक्नेतर्फ इंगित गर्दै ‘मर्जर’ले सरकार र नेपाल राष्ट्र बैंकलाई चुनौती थपिएको बताउनुभयो।

बैंकहरूबीच मर्जर हुनु आफैंमा सुखद् भए पनि केही जोखिम बढेको बताउनुहुँदै भन्नुभयो–‘निजी क्षेत्रका बैंकहरूको मर्जरमा प्रतिस्पर्धा भए भविष्यमा ठूला व्यापारीको हातमा अर्थतन्त्र पर्नसक्छ, जसले अर्थतन्त्र धरापमा पर्नसक्छ।’ दुई ठूला बैंकको मर्जरले अहिले सबैमा खुशीयाली छाएको बताउँदै उहाँले खुशी हुँदैगर्दा भविष्यमा आइपर्ने जोखिमप्रति पनि सजग बन्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।

‘काठमाडौंमा ठूला दुई बैंकले एकीकृत कारोबार गर्दै गर्दा धनगढीमा वित्तीय पहुँच भएन भनेर एक सम्मेलनमा गुनासो आएको थियो,’ उहाँले भन्नुभयो– ‘मर्जरपछि ठूलो भएको यो बैंकले अब पिछडिएको क्षेत्रमा वित्तीय पहुँच पुर्याउन के योगदान गर्छ ? त्यो महत्वपूर्ण हुन्छ।’

उहाँले बैंक मर्ज भएर ठूलो बनेसँगै अब त्यस बैंकको आधार दर, ब्याजदर लगायत सबै अरू बैंकको तुलनामा घट्नुपर्ने उल्लेख गर्नुभयो। मर्ज पनि बैंकको सञ्चालन खर्च घट्न जाने हुँदा ब्याजदर उल्लेख्य मात्रामा घटाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

वित्तीय स्रोतको अभाव हुन नदिन ठूलो बैंकले के सहयोग गर्छ ? १५औं दिगो विकासका लक्ष्यहरू पूरा गर्न यस बैंकले कस्तो भूमिका खेल्न सक्छ ? त्यो विषय महत्वपूर्ण हुने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘ठूलो भइसकेपछि यस अर्थतन्त्रमा यस बैंकको दायित्व बढी हुन्छ, त्यसैअनुरूप राज्यको अर्थतन्त्रमा यसले के सघाउ पुर्याउँछ, त्यो हेर्नुपर्छ, यदि अर्थतन्त्रमा सघाउ पुर्याउन सक्यो भने मात्रै मर्जरले सार्थकता पाउँछ,’ उहाँले भन्नुभयो।

उहाँले ठूला बैंकले साना तथा मझौला उद्यममा पनि लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले ठूला बैंकको कामलाई मर्यादित बनाउन राष्ट्र बैंकले छुट्टै जनशक्ति खडा गरी अनुगमन तथा सुपरीवेक्षणको काम गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो–‘अहिलेकै जनशक्ति र नीति नियममा राष्ट्र बैंकले ती बैंकलाई नियन्त्रण÷निर्देशन गर्न सक्दैन, त्यसकारण विषेश नीति निर्देशन ल्याइ विषेश सुपरिवेक्षण गर्नतर्फ राष्ट्र बैंक अग्रसर हुनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्