एचआईभी पीडितको विर्य बैंक



अकल्यान्ड, (एजेन्सी)।

एचआईभी तथा एड्स पीडितप्रतिको सामाजिक धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विश्वमै पहिलोपटक न्युजिलयान्डमा एचआईभी पोजिटिभ दाताहरूको विर्य बैंक स्थापना गरिएको छ।

तीनजना एचआईभी पीडित पुरुषले विर्य दानका लागि पहिल्यै मन्जुरीनामा दिइसकेका छन्। तिनीहरूमा पत्ता लाग्नै नसक्ने अवस्थामा भाइरस रहेको बुझिएको छ।

यसको अर्थ तिनीहरूका रगतमा एचआईभी भाइरसको स्तर यति कम मात्रामा रहेको छ कि यौनकार्य वा सन्तान जन्माउँदा तिनीहरूबाट एचआईभी सर्दैन। १ डिसेम्बरको विश्व एड्स दिवसको दिन तीनवटा दातृ संस्थाको पहलमा स्पर्म पोजिटिभ नामक बैंक शुरू गरिएको हो।

बडी पोजिटिभ, दि न्युजिल्यान्ड एड्स फाउन्डेसन तथा पोजिटिभ विमिन इन्क होप दि प्रोजेक्टले जनतालाई एचआईभी संक्रमणसम्बन्धमा चेतना फैलाउने र यो रोगप्रतिको नकारात्मक धारणामा कमी ल्याउने प्रयास गर्नेछन्।

स्पर्म बैंकले ती सम्पूर्ण विर्य दाता एचआईभी पोजिटिभ भए पनि सफल उपचार क्रममा रहेका तिनीहरूबाट भाइरस नफैलिने बताएको छ। यस बैंकले प्रजनन उर्वरता क्लिनिक सञ्चालन गरेको छैन।

तर आवश्यक परेका खण्डमा यसले स्थानीय उर्वरता क्लिनिकलाई विर्य उपलब्ध गराउन सक्छ। तीनजना दातामध्ये एक डामियन रुल निलले रेडियो न्युजिल्यान्डलाई आफूलाई एचआईभी रहेको थाहा पाएपछि आफ्नो काम गर्ने स्थानको मालिकले निकै हेपेका कारण आफूले जागिरै छोडेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्