सन्नालाई स्याल्यूट



यूरोपेली मुलुक फिनल्याण्डले आगामी साता नयाँ इतिहास रच्दैछ। ३४ वर्षीया सन्ना मरिन सो मुलुककी प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने विश्व इतिहास उनैले रच्दैछिन्।

यता नेपालमा भने ४० नाघेका विद्यार्थी नेता हुन तछाड मछाड भइराख्या छ। ४० त के ५०, ६० नाघेका आफूलाई ‘विद्यार्थी नेता’ भन्न रुचाउँछन्।

हजुरबा, हजुरआमा उमेरकाहरू दलको नेतृत्व लिन मरिहत्ये गर्या गर्यै छन्। ‘युवा भविष्यका कर्णदार हुन्, युवाले नेतृत्व लिएपछि मात्रै मुलुकले मुहार फेर्छ’–यस्तै शब्द र वाक्यलाई मसला बनाएर हाम्रा नेताले भाषण कति गरे गरे।

बरु सास जाओस् हाम्रा नेता शीर्ष पदको कुर्ची छोड्ने अनि युवालाई नेतृत्व सुम्पिने कुरो सपनामा पनि सम्भव छैन। ‘इन्द्रका अगाडी स्वर्गको बयान’ भनेझैं आम पाठकवृन्दका अघि धरहराले यो विषयमा धेरै बखान गर्नु पर्दैन।

फिनल्याण्डको पछिल्लो खबर हाम्रा नेता, मन्त्री र उनका युवा नेताले सुनेकी सुनेनन् कुन्नी, धरहरालाई निकै खसखस लाग्या छ।

सुनेपनि–‘त्यो फुच्ची, बच्चीको के कुरा गर्नु, राजनीति गर्न बरु नेपाल आए हुन्छ’ भन्न बेर छैन।

नेपालका नेताले जतिसुकै कटाक्ष गरेपनि छोरी अनि नातिनी सन्नासँग शक्ति राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख हाई हेल्लो गर्न छोड्दैनन्। बरु उनकै नेतृत्वकालमा फिनल्याण्डले अझ बढी प्रगति गर्न बेर छैन। ठिटी सन्नालाई धरहराको स्याल्यूट।

 

प्रतिक्रिया दिनुहोस्