शेयर बजारमा हरियाली



नेपाल समाचारपत्र, काठमाडौं।

पछिल्ला केही दिनयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार हुँदै गएको छ। यसैक्रममा सोमबार नेप्से दोहोरो अंकले बढेको छ। सोमबार नेप्से १३ दशमलव ५१ अंकले वृद्धि हुँदै परिसूचक ११४८ दशमलव ८९ बिन्दुमा पुगेको छ।
यस दिन कुल १७३ कम्पनीको १४ लाख ५९ हजार कित्ता शेयर ४६ करोड ४२ लाख २० हजार रुपियाँमा कारोबार भएको छ।

सोमबार परिसूचकसँगै कारोबार रकम र संख्या पनि वृद्धि भएको छ। यस्तै सेन्सेटिभ परिसूचकसमेत २ दशमलव ६५ अंकले वृद्धि भई २५३ दशमलव १७ बिन्दुमा पुगेको छ।

सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये अन्य समूह शून्य दशमलव ७४ र सामूहिक लगानी कोष स्थिर देखिएको छ। तर, बैंकिङ समूह ७ दशमलव ९१, व्यापार समूह १६ दशमलव ६३, होटल समूह १३ दशमलव शून्य ६, विकास बैंक २८ दशमलव १५, जलविद्युत् १६ दशमलव ८, वित्त ७, निर्जीवन बीमा १५६ दशमलव ३४, उत्पादन २९ दशमलव ७३, लघुवित्त ५० दशमलव ४३ र जीवन बीमा ६० दशमलव ९८ विन्दुले बढेको छ।

त्यस्तै कारोबारका रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा हेको छ। उक्त बैंकको २ करोड २८ लाख रुपियाँबराबरको शेयर किनबेच भएको छ।
सोमबार लघुवित्त कम्पनीका लगानीकर्ताहरूले धेरै कमाएका छन्।

जुमा नाडेप लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन्। त्यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९५, समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ८०, मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ५२, आँधीखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशमलव ७१ प्रतिशले कमाएका छन्।

समग्र परिसूचक वृद्धि हुँदा पनि नबिल इक्विटी फन्डका लगानीकर्ताले ५ दशमलव ७४, सिभिल बैंकका लगानीकर्ताले २ दशमलव १२ प्रतिशतले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्