बर्दियामा होटल स्तरीकरण कार्य शुरू



विष्णु तिमिल्सिना, बर्दिया।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले खाद्य स्वच्छता सम्बन्धि अभिमुखीकरण गरी होटल, रेस्टुरेन्ट, भोजनालय र रिर्सोटहरूको स्तरीकरण कार्य बर्दियामा शुरू गरेको छ।
उक्त कार्यालयले गुलरिया नगरपालिकास्थित उद्योग वाणिज्य संघको हलमा सरोकारवालासँग स्तरीकरणको निर्देशिकाको विषयमा अभिमुखीकरण पछि स्तरीकरण कार्य शुरु गरिएको हो।
सो कार्यालयका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठले होटल, रेस्टुरेन्ट, भोजनालय, मिठाई पसल, चिया पसल, क्याट्रिङ एवं क्यान्टिन आदिमा खाद्यवस्तु स्वच्छता कायम गरी सर्वसाधारण उपभोक्ताको स्वास्थ्य तथा सुविधा कायम राख्न होटल स्तरीकरणको उद्देश्य रहेको बताउनुभयो।
उहाँले निर्देशिकामा भएका व्यवस्था, स्तरीकरण सम्बन्धि व्यवस्था, खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण मूल्यांकन सूचांक, स्तरीकरणको लोगो, स्तरीकरणको प्रमाणपत्र, प्रतिबद्धतापत्र, स्तरीकरणको समयावधि, अनुगमन तथा निरीक्षण, स्थानीय खाद्य स्वच्छता समूहलगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ज्योत्स्ना श्रेष्ठको अध्यक्षतामा गरिएको सो कार्यक्रममा उपस्थित होटल व्यवसायी, सञ्चारकर्मीको रोहबरमा होटल स्तरीकरण तथा लोगो वितरण कार्यक्रमलाई सहजीकरण गर्ने गरी एउटा समूह गठन गरिएको छ।
समूहका सदस्यहरूको संलग्नतामा बर्दिया जिल्लाभित्रका होटल, रेस्टुरेन्ट तथा खाना पसलहरूको अनुगमन, मूल्यांकन गरी होटल स्तरीकरण र लोगो वितरण गर्ने निर्णय भएको छ।
गठन भएको समूहमा होटल व्यवसायी संघको अध्यक्ष तुल्सीप्रसाद तिमिल्सिना संयोजक र सदस्यहरूमा होटल, रेस्टुरेन्टलगायत खाद्य व्यवसायीका लोकमणि खनाल, उपभोक्ता हकहित सम्बद्ध संस्थाका विष्णुप्रसाद तिमिल्सिना, स्थानीय तहको प्रतिनिधि सुधांसु प्रकाश शर्मा, स्थानीय सेवा प्रदायक खाद्य व्यवसाय सञ्चालक हिमालय त्रिपाठी, इलाका/वडा प्रहरी कार्यालयका प्रतिनिधि, आमन्त्रित सदस्यमा होटल व्यवसायी संगीता थापा, स्थानीय सञ्चारकर्मी र सदस्य सचिवमा खाद्य अनुसन्धान अधिकारी खाद्य निरीक्षक रहनुभएको छ।
नवगठित समूहसहित सो कार्यालयको अनुगमन टोलीले बर्दिया जिल्लामा होटल,  रेस्टुरेन्टहरूको अनुगमन शुरु गरेको छ। अनुगमनमा वडा नम्बर ६ अन्तर्गत बजारमा सञ्चालित लोट्स गार्डेन रिर्सोटलाई स्तरीकरण गरी (ग) वर्गको लोगो र प्रमाणपत्र प्रदान गरेको छ।
उक्त रिर्सोटले एक सय अंकमा ७९ अंक प्राप्त गरी स्तरीकरणको सन्तोषजनकको स्टिकर टाँस गर्ने पहिलो होटल भएको छ। त्यसैगरी गुलरिया–७ अन्तर्गत रहेको विजया गेस्ट हाउसले पनि ७९ अंक प्राप्त गरी सन्तोषजनक स्तरीकरणमा परेको छ।
गुलरिया–५ स्थित अर्घाखाँचीले ६३ अंक, वडा न–६ मा सञ्चालित अर्यान्स रेस्टुरेन्टले ५४ अंक र वडा नम्बर ७ स्थित होटल न्यु मिररले ५१ अंक प्राप्त गरी (घ) वर्गको सामान्य स्टिकर प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्