विश्वव्यापी भोकमरीमा नेपाल ७३औं स्थानमा



नेपाल समाचारपत्र, काठमाडौं।

ग्लोबल हंगर इन्डेक्स सूचकांक अल्पपोषित जनसंख्या, बाल ख्याउटेपन, बाल पुड्कोपन र बालमृत्यु दरका आधारमा अध्ययन गरिएको विश्वव्यापी भोकमरी प्रतिवेदनमा नेपाल ७३औं स्थानमा परेको छ।

वेल्ट हंगर हिल्फे र कन्सर्न वल्र्डवाइड नामका दुई संस्थाले संयुक्तरूपमा विश्वका १ सय १७ मुलुकमा गरिएको अध्ययन प्रतिवेदन अक्टोबर २०१९ मा जर्मनीमा सार्वजनिकीकरण गरिएको थियो।

वेल्ट हंगर हिल्फे नेपालको साझेदारीमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) द्वारा नेपाल प्रतिवेदन सार्वजनिकीकरण गरियो। उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले गर्नुभएको थियो।

प्रतिवेदनले विश्वका मुलुकको भोकमरीको अवस्थालाई न्यून भोक, मध्यम भोक, गम्भीर प्रकृतिको भोक, भयाबह भोक र अति भयावह भोक गरी ५ तहमा वर्गीकरण गरेको छ।

यस प्रतिवेदनअनुसार नेपाल गम्भीर प्रकृतिकको भोकमा परेको छ। दक्षिण एसियाली मूलुकको तुलनामा नेपाल श्रीलंकाको भन्दा कमजोर तर बंगलादेश, पाकिस्तान, भारत र अफगानिस्तानभन्दा राम्रो रहेको जनाएको छ।

छिमेकी मुलुक चीन २५औं स्थानमा र भारत १ सय २औं स्थानमा छन् भने भुटान र माल्दिभ्स यस अध्ययनमा समावेश भएका छैनन्। अध्ययन प्रतिवेदनमा समेटिएका मुलुकमध्ये अति भयावह भोकमा मध्ये अफ्रिकी गणतन्त्र सबैभन्दा पछि १ सय १७ स्थानमा परेको छ। यसैगरी चाड, माडागास्कर, यमन र जाम्बिया पनि यसवर्गमा परेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्