लैंगिक हिंसाविरुद्धको वर्षमा श्रमिक महिलाको सवाल 



रसना ढकाल
केही दिनपहिलेको कुरा हो। श्रम कार्यालय टेकु, काठमाडौंको गेटअघि डान्सबारमा काम गर्ने एक महिला श्रमिकसँग साक्षात्कार भयो। ती श्रमिक आफैंमा रिसाउँदै, कराउँदै गरेको देखें। उनको अघि गएर सोधें, ‘हजुरलाई के भयो ?’
यति भनेपछि उनी डान्सबारमा नृत्यङ्गनाको रूपमा काम गर्ने श्रमिक रहिछन् भन्ने थाहा पाएँ। कुरा गर्दै आफूले काम गरेको डान्सबारमा साहूले ६ महिनादेखि पैसा नदिएको, आफ्नो पारिश्रमिक माग्न जाँदा उल्टै कामबाट निकालिदिने धम्की प्रयोग गरेको भन्दै गुसानो व्यक्त गरिन्। उनको साथमा अरू महिला श्रमिकहरू पनि आएका थिए। सबैको पीडा त्यही थियो।
श्रम कार्यालयले ज्याला नपाएका श्रमिकहरूको मुद्दा हेर्छ भनेर निवेदन दिन आएको उनको भनाइ थियो। तर उनीसँग आफूले काम गरेको डान्सबारको परिचयपत्र, त्यो पनि समय नाघेको मात्र थियो। नियुक्तिपत्रजस्ता महत्वपूर्ण कागजहरू केही थिएन। तर बल्ल–बल्ल श्रम कार्यालयले निवेदन लिएको उनले बताइन्। प्रस्तुत यी वाक्य हामीलाई कहानीजस्तो लाग्छ। काम गरेर पैसा नपाउनु यो कस्तो विडम्बना हो त ? किनकि अहिले पनि याहाँ श्रमको मूल्य छैन।

अधिकांश रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकहरूको अवस्था यस्तै छ। शहरमा दिनदिनै खुलेका दोहोरी साँझ, डान्सबारजस्ता मनोरञ्जन प्रदान गर्ने स्थानहरूमा महिला श्रमिकहरू श्रम बेचेर जीवनयापन गरिरहेका छन्। हुन त रोजगारीको थलोको रूपमा पनि यस क्षेत्रलाई लिन सकिन्छ।

तर के मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरूले वास्तविक जीवन जिउन पाएका छन् त ? आफैंमा ठूलो प्रश्न बनेको छ। अहिले पनि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरू विनाज्याला अर्थात् न्यूनतम ५ हजार रुपियाँमा काम गरिरहेको अवस्था छ। साहूबाट पैसा नपाएपछि उनीहरू ग्राहकको सेवामा लाग्छन् र ग्राहकबाट आएको दुई सय र पाँच सय टिप्समा भोको पेट भर्छन्।

मनोरञ्जन क्षेत्र अरूलाई आनन्दित गराउने क्षेत्र हो। दिनभरको थकाइलाई दूर गर्न व्यक्तिहरू आफूलाई रिल्याक्समा ल्याउन यसतर्फ जान्छन्। मान्छेको जीवनमा महत्वपूर्ण भागको रूपमा मनोरञ्जनलाई लिइन्छ। यसको प्राप्ति भएपछि व्यक्तिमा नयाँ ऊर्जा, जोश, जाँगर आउँछ र ऊ आफ्नो काममा लाग्न थाल्छ। तर आफ्नो कलामार्फत अरूलाई आनन्दित बनाउने श्रमिकहरूको अवस्था कस्तो छ त ? न त त्यहाँ आउने ग्राहकहरूको ध्यान जान्छ, न त अरू कसैको ध्यान जान्छ।
यसभित्र दुःखको पाटो भनेको यहाँ काम गर्ने श्रमिकहरूले पाउने ज्याला हो। काम पाउन सजिलो, कुनै पनि शैक्षिक योग्यताको आवश्यकता नपर्ने भएकाले यस क्षेत्रमा धेरै महिला र पुरुष आफ्नो गला–कला देखाएर जीवन धान्दै आएका छन्। यति हुँदा पनि श्रमिकले पारिश्रमिक नपाउनु ठूलो विडम्बना हो।

उत्पादनमूलक हेरक क्षेत्रका श्रमिकहरूको सवाललाई सम्बोधन गर्न श्रम ऐन २०७४ छ। श्रम ऐन २०७४ ले मनोरञ्जन क्षेत्रको सवाललाइ कहीँ–कतै पनि समेटेको पाइँदैन। उत्पादनमूलक तथा सेवाप्रदायक क्षेत्रका श्रमिकहरूको सवाललाई सम्बोधन भने गरेको छ। श्रम ऐनमा श्रमिकको सवालमा व्यवस्था भएका मूलभूत बुँदाहरू देहायका छन्।
काममा लागेको दिनदेखि नै न्युक्तिपत्र दिनुपर्ने, न्यूनतम पारिश्रमिक रु. १३ हजार ४ सय हुनुपर्ने, विनाज्याला कसैलाई काममा लगाउन नपाइने, पारिश्रमिक बैंक खाताबाट सञ्चालन गर्ने जस्ता प्रावधानहरू श्रम ऐनले व्यवस्था गरेको छ। श्रम ऐन बनेलगत्तै लागू हुनेछ भनिएको छ, तर के ऐन पूर्णरूपमा लागुभएको छ त ? यसतर्र्फ न त राज्यको ध्यान गएको छ, न सरोकारवालाहरूको ध्यान गएको छ।
मनोरञ्जन क्षेत्र जो आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको लागि एकदमै महत्वपूर्ण भागको रूपमा लिन सकिन्छ। यो क्षेत्रमा श्रम ऐनले दिएको व्यवस्थाबारे कुनै जानकारी पनि छैन। नेपाल सरकार या सरोकारवाला सामाजिक संघसस्थाहरूसँग काठमाडौं उपत्यकामा कतिवटा डान्सबार वा दोहोरी साँझहरू छन्, त्यसको आँकडा छैन। जब क्षेत्रहरूको आँकडा नै छैन भने त्यसभित्र काम गर्ने श्रमिकहरूको आँकडा नहुनु स्वाभाविक नै हो।

‘समानताको पुस्ता बलात्कारविरुद्धको ऐक्यबद्धता’ मूल नाराको साथ मुलुकमा अहिले २८ औंं लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ। यो अभियान अन्तर्राष्ट्रिय स्तरमा नै २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिन्छ। सन् १९६० मा डोमेनिक रिपब्लिक भन्ने देशमा मिरावल परिवारका तीनजना दिदी–बहिनीले त्यहाँको शासकहरूको विरुद्धमा बोलेको भन्दै उनीहरूको हत्या भएको थियो।
त्यसपछि संयुक्त राष्ट्रसंघले सन् १९८१ मा सोही दिनलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय स्तरमा नै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान मनाउने घोषणा गर्यो। नेपालमा पनि यो अभियानलाई वि.सं. २०५४ देखि मनाउन थालियो। नेपाल सरकारले वर्ष २०७६ लाई लैंगिक हिंसाविरुद्धको वर्षको रूपमा मनाउने निर्णय गरेको छ, जुन एकदमै स्वागतयोग्य छ। यो अभियानभरि महिलाको मानवअधिकारकोे सम्बन्धमा विविध कार्यक्रमहरू र सवालहरू उठाइन्छ।

महिलाको सवाल एकतर्फी मात्रै होइन, चौतर्फी बहसको विषय बनेको छ। त्यही चौतर्फी सवालहरूमध्ये मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको सवाल पनि छ। यस क्षेत्रमा काम गर्ने श्रमिकहरूको सामाजिक तथा आर्थिक अवस्थाको बारेमा पनि बहस हुन आवश्यक छ। उनीहरूले काम गर्ने क्षेत्र के महिला मैत्री छन् त ? उनीहरूले कार्यक्षेत्रमा खान पाउने वस्तुहरू स्वास्थ्यवद्र्धक छन् त ?
ग्राहकहरूको व्यवहार र श्रमिक आफैंले पनि साहू तथा ग्राहकहरूप्रति कस्तो व्यवहार गरेका छनन् ? यस्ता सवालहरू उठाउन आवश्यक छ। दिवस थुप्रै मनाइन्छ तर त्यहीभित्र उत्पादनमूलक क्षेत्रका महिलाहरूको सम्बोधन हुँदैन भने दिवसको अनुभूति ती महिलाहरूमा पर्दैन। यो सबै बहसका विषय हुन्। यस लैंगिक हिंसाविरुद्धको वर्षमा मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरूको सबै सरोकारवाला क्षेत्रहरूसँग सरकारले बहस चलाउनै पर्छ अनि मात्र दिवसले पनि सार्थकता पाउँछ।

प्रतिक्रिया दिनुहोस्