सातवटा टोस्ट मास्टर क्लबको पदस्थापन



नेपालमा सन् १९९१ बाट स्थापना भएको टोस्ट मास्टर क्लबले पुनः सातवटा नयाँ क्लब एकैपटक पाएको छ। आइतबार धुलिखेल अस्पतालमा आयोजित एक कार्यक्रमबीच नयाँ स्थापित क्लबहरूको संयुक्तरूपमा पदस्थापन कार्यक्रम सम्पन्न भयो।

पदस्थापन भएका नयाँ क्लबहरूमा धुलिखेल टोस्ट मास्टर क्लब, एकेडेमिया टोस्ट मास्टर क्लब, प्रभु बैंक टोस्ट मास्टर क्लब, एसियन टोस्ट मास्टर क्लब, नेपाल ओमन टोस्ट मास्टर क्लब, लिड बक्स टोस्ट मास्टर क्लब र यति टोस्ट मास्टर क्लब रहेका थिए।

क्लबको पदस्थापन कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजू श्रेष्ठले आफू सामान्य परिवारमा जन्मिए पनि देश र जनताकै सेवा गर्ने उद्देश्य लिई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर केही गर्ने अठोटका साथ अघि बढेकै कारण आजको धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयको स्थायित्वका लागि अहोरात्र खट्न सक्ने क्षमता राखेको बताउनुभयो।

उहाँले म र मेरो भावनाले कहिल्यै देशको विकास नहुने हुनाले युवाशक्तिको जोश जाँगर सहीरूपमा सदुपयोग गर्नका लागि उपयुक्त शिक्षा र शिक्षा विद्हरूको स्वार्थपूर्ण भावना त्यागेर अघि बढ्नुपर्ने खाँचो औंल्याउनुभयो।

सोही अवसरमा टोस्ट मास्टर क्लबका डिस्ट्रक ४१ का डिस्ट्रिक डाइरेक्टर जेनिफर घोसले सहभागी सबैलाई तपाईंहरू सबै मास्टर हो र एकको अनुभव अर्कोमा आदान प्रदान गर्नु नै सिकाइ हो भन्नुभयो। त्यसै गरी क्लब अफिसर दीपक मेननले सातैवटा क्लबका पदाधिकारीलाई पदस्थापन गराउँदै क्लबको मन्त्रद्वारा शपथ गराउनुभयो।

कार्यक्रममा धुलिखेल अस्पतालका सामुदायिक निर्देशक तथा टोस्ट मास्टर क्लबका अध्यक्ष डा. विराज कर्माचार्यले अस्पतालको कार्यक्षेत्रका बारेमा प्रस्ट्याउनुभएको थियो। टोस्ट मास्टर क्लब नेपालका अध्यक्ष सुबरथ पौडेलले टोस्ट मास्टर क्लबको मूल उद्देश्य शिक्षा र सञ्चार रहेको जानकारी गराउनुभयो।

प्रतिक्रिया दिनुहोस्