वाङ्मय शताब्दी पुरुष जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।

हरेक चार वर्षमा अर्पण गरिने पृथ्वी प्रज्ञा पुरस्कार (२०७५–२०७८) यस वर्ष वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतल निवासमा आयोजित प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सवमा कार्यक्रममा जोशीलाई नगद ४ लाख रुपियाँ, दोसल्ला तथा सम्मानपत्रले सम्मान गर्नुभयो।

त्यसै गरी सोही कार्यक्रममा अन्य आठ जनालाई जनही एक लाख रुपियाँ नगदसहित प्रज्ञा पुरस्कारले सम्मान गरिएको छ। सोही समारोहमा नेपाल प्रज्ञा सामाजिकशास्त्र/संस्कृति/दर्शन पुरस्कार (२०७५–२०७६) प्रा.डा त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशि एक लाख रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ।

प्राडा टंकप्रसाद न्यौपानेलाई नेपाल प्रज्ञा भाषा पुरस्कार (२०७५–२०७६) प्रदान गरिएको छ। यो पुरस्कारको राशि पनि एक लाख रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र रहेको छ। सोही राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मीलाई प्रदान गरियो भने नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ।

त्यसै गरी पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) प्रदान गरिएको छ।
त्यस्तै अर्का साहित्यकार अयोध्यानाथ चौधरीलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि प्रदान गरिएको छ। पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) अमृत योञ्जन तामाङलाई प्रदान गरिएको छ।

अशोक थारूलाई नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) प्रदान गरिएको छ। उहाँलाई सो पुरस्कार तराई–मधेसमा बोलिने मातृभाषा साहित्यका लागि प्रदान गरिएको हो। उहाँहरू सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नगद एक लाख रुपियाँ, दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभएको छ।

त्यसै गरी राष्ट्रपति भण्डारीले राष्ट्रिय कविता महोत्सव २०७६ का विजयी कविहरूलाई पुरस्कार प्रदान गर्नुभएको छ। हेम प्रभास (धादिङ) लाई ‘परदेश गएका पतिका नाममा’ शीर्षक कविताका लागि नगद ३० हजार र पदकसहित प्रथम पुरस्कार प्रदान गरिएको छ। सुभाषचन्द्र भण्डारी (डोटी) लाई ‘किनाराका अलिखित संवेगहरू’ शीर्षक कविताका लागि नगद २५ हजार र पदकसहित द्वितीय पुरस्कार प्रदान गरिएको छ।

जनही नगद २० हजार, पदकसहित तीन जनालाई तृतीय पुरस्कार प्रदान गरिएको छ। लमजुङका प्रज्वल अधिकारीले ‘पाठशाला’, सोलुखुम्बुका शान्ति शर्माले ‘उज्यालोको गीत’ र काठमाडौंका प्रकाश बस्नेत ‘गफाडी’ ले ‘इन्द्रधनुष’ कविताका लागि तृतीय पुरस्कार पाउनुभएको थियो। पुरस्कृत व्यक्तित्वले कार्यक्रममा आफ्ना रचना वाचन गर्नुभएको थियो।

पुरस्कृत व्यक्तित्वहरूका तर्फबाट सत्यमोहन जोशीले मन्तव्य राख्नुभएको थियो। मन्तव्यका क्रममा उहाँले आफूलाई पृथ्वी प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको खुसी व्यक्त गर्नुभयो। उहाँले साहित्यकारले पनि देशलाई समृद्ध बनाउने बताउनुभयो।

समृद्ध नेपाल र सुखी नेपाली कसरी बनाउने भन्नेमा अब आम नेपाली लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै यदि पृथ्वीनारायणले नेपाल एकीकरण नगरेको भए अहिले हामी दासानुदास हनुमान दास हुन्थ्यौं भन्दै यो पुरस्कार आफ्ना निम्ति मात्र नभई अरूका निम्ति पनि प्रेरणादायक होस् भन्नुभयो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रज्ञा प्रतिष्ठानले सही व्यक्तित्व छनोट गरेको बताउनुभयो। उहाँले पुरस्कारको छनोट पनि विविधताभित्रैबाट छनोट भएकाले सही रहेको बताउनुभयो। सरकारले विद्वान् व्यक्तित्वलाई सम्मान र कदर गर्न चाहेको उहाँको भनाइ थियो।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार वितरण कार्य सराहनीय रहेको बताउनुभयो र उहाँले यस्ता कार्यले विकासमा विशेष सहयोग पुर्याउने बताउनुभयो। उहाँले यस्ता कार्यमा राज्य थप सहयोग गर्न अग्रसर हुनेमा आफू आशावादी रहेको बताउनुभयो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले राष्ट्रपतिसमक्ष प्रज्ञा प्रतिष्ठानका प्रकाशनहरू उपहारस्वरूप समर्पण गर्नुभएको थियो। उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको कार्यक्रममा प्रज्ञाका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा पुरस्कारसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

त्यसै गरी राष्ट्रिय कविता महोत्सव २०७६ सम्बन्धी प्रतिवेदन कविता महोत्सवका संयोजक, साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले गर्नुभएको कार्यक्रमको उद्घोषण प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो।

कार्यक्रमको समापन कुलपति गंगाप्रसाद उप्रेतीले गर्नुभएको थियो। कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यदेखि कर्मचारी, साहित्यकार, पत्रकारलगायत ३ सय ५० जनाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्