राष्ट्रिय सभाको चुनाव माघ ७ गतेदेखि १० गतेभित्र



सुनील महर्जन, काठमाडौं। 

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आगामी माघ ७ गतेको मिति प्रस्तावित गरेको छ।राष्ट्रिय सभाको एक तिहाइ सदस्यको निर्वाचनका लागि आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सो मिति प्रस्तावित गरेको हो।

संघीय संसद्ले केही समयअघि राष्ट्रिय सभाका ५९ सदस्यमध्ये १९ जनाको पदावधि सकिन लागेकाले निर्वाचन गराउन आयोगलाई लिखितरूपमा आग्रह गरेको थियो। सोहीअनुरूप आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो।

संघीय संसद्को बैठक शुरू भएको दुई वर्ष पूरा भएसँगै फागुन २० गते निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित एक जनाको कार्यकाल सकिँदै छ।राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

यसैबीच आयोगले निर्वाचनको तयारीका विषयमा सोमबार राजनीतिक दलहरूसँग छलफल गरेको छ। दलहरूसँगको छलफलपछि आयोगले माघ ७ गते राष्ट्रिय सभा सदस्यको चुनाव गर्ने प्रस्ताव गरेको हो। चुनावको मिति सरकारले घोषणा गर्ने कानुनी व्यवस्था भए पनि आयोगको परामर्शमै मन्त्रिपरिषद्ले मिति तय गर्ने कानुनी व्यवस्था छ।

छलफलपछि सरकारसँग परामर्श गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरेको थियो। माघ ७ देखि १० गतेभित्रको समय उपयुक्त हुने प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो।

रिक्त १९ सदस्यमध्ये १८ जना निर्वाचन र १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट चयन हुनेछ। राष्ट्रियसभाका सदस्यको पहिलोपटक एक तिहाइ सदस्यको पदावधि दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षमा समाप्त हुने कानूनी व्यवस्था छ।

पहिलो दुई वर्षको कार्यकाल पूरा हुने सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ९, नेपाली कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एकजना रहेका छन्।
राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनित हुनेछ। उहाँ यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएको थियो।

उक्त निर्वाचनमा कुल २ हजार ५६ मतदाता रहनेछन्। त्यसमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको मेयर र उपमेयर गरी १ हजार ५ सय ६ र प्रदेश सभाका सांसद ५ सय ५० जना मतदाता रहेका छन्।

राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य सातजना निर्वाचित हुनेछन्। राष्ट्रियसभा सदस्यको चुनावबारे आयोगले आइतबार कानुनविद्सँग पनि छलफल गरेको थियो।

क–कसको सकिँदै छ ?

सरिता प्रसाईं
सुरेन्द्रराज पाण्डे
हरिचरण शिवाकोटी
रामप्रित पासवान
बिन्दादेवी आले
वृषेशचन्द्रलाल
बद्रीप्रसाद पाण्डे
बलरामप्रसाद बास्कोटा
मीना बुढा
मुक्ताकुमारी यादव
डा. युवराज खतिवडा
युटोल तामाङ
रमेशप्रसाद यादव
राजकुमार यादव
दुर्गाप्रसाद उपाध्याय
धनकुमारी खतिवडा
कमलाकुमारी ओली
कालीबहादुर मल्ल
खेमराज नेपाली

 

 

प्रतिक्रिया दिनुहोस्