तेह्रौँ साग : नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुँदै



काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को आज नवौँ दिन १३ खेलको प्रतिस्पर्धा हुनेछ । आज काठमाडौँ, पोखरा र जनकपुरमा क्रिकेट, फुटबल, कबड्डी, बास्केटबल, बक्सिङ, कुस्ती, जुडो, आर्चरी, स्क्वास, टेनिस, फेन्सिङ, पौडी र टेनिस हुनेछ ।

कुन कुन खेल कहाँ :

फुटबल

सागअन्तर्गत महिला फुटबलको फाइनल खेल आज पोखरा रङ्गशालामा हुनेछ । फाइनलमा नेपाल र भारतबीच खेल हुनेछ । महिला फुटबलको कास्य माल्दिभ्सले जितेको छ । पुरुष फुटबलको फाइनल मङ्गलबार नेपाल र भूटानबीच हुनेछ ।

क्रिकेट

साग क्रिकेटअन्तर्गत पुरुष क्रिकेटको फाइनल खेल आज त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ । यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सबीच सोही मैदानमा खेल हुनेछ । महिलातर्फ स्वर्ण बङ्गलादेशले, रजत श्रीलङ्काले तथा कास्य नेपालले जितेको छ ।

कबड्डी

महिला र पुरुष कबड्डी हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा आज हुँदैछ । पुरुषतर्फ भारत र श्रीलङ्काबीच तथा महिलातर्फ नेपाल र भारतबीच फाइनल खेल हुनेछ ।

बास्केटबल

त्रिपुरेश्वरस्थित कभर्ड हलमा आज महिला र पुरुष बास्केटबलको सेमिफाइनलका खेल हुनेछन् । पुरुषको सेमिफाइनलमा बङ्गलादेश र श्रीलङ्का तथा नेपाल र भारतबीच खेल हुनेछ ।

यस्तै महिलातर्फ भारत र भूटान तथा नेपाल र माल्दिभ्सबीच सेमिफाइनल खेल हुनेछ ।

बक्सिङ

साग बक्सिङतर्फ आज आठ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका नौ खेलाडी फाइनलमा भिड्नेछन् । महिलातर्फ ललिता महर्जन, माला राई, मिनु गुरुङ, सङ्गीता सुनार र पुनम रावल तथा पुरुषतर्फ आशिष दुवाडी, भूपेन्द« थापामगर, सनिल शाही र गणेश प्रधान फाइनलमा भिड्नेछन् ।

यस्तै सुशील थापामगर, पुरन राई, अर्जुन सिगु, तेजबहादुर देउवा, विकास लामा र चन्द्रकला थापा कास्य पदकका लागि भिड्नेछन् ।

आर्चरी

आर्चरीतर्फ पोखरामा आज एकल महिला र पुरुषको रिकर्भ र कम्पाउन्ड गरी चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

स्क्वास

स्क्वासतपर्फ आज पुरुष र महिलातर्फ विभिन्न खेल हुनेछन् ।

टेनिस

टेनिसअन्तर्गत आज महिला र पुरुषतर्फको विभिन्न खेल हुनेछन् । टेनिसअन्तर्गत पुरुष एकलको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष, सुरेशकुमार तथा महिला एकलको उपाधिका लागि भारतकै श्रब्याभावी सेट्टी र सत्विका समाबीच खेल हुनेछ ।

कुस्ती

कुस्तीतर्फ आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलङ्काले दुई तथा नेपालले एउटा स्वर्ण जितेका छन् ।

जुडो

सागअन्तर्गत जुडोमा आज विभिन्न तौल समूहमा सात स्वर्णका लागि खेल हुनेछ । खेल आर्मी शारीरिक तालीम तथा खेलकूद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङ

कीर्तिपुरमा फेन्सिङअन्तर्गत आज टिम स्पर्धामा तीन स्वर्णका लागि खेल हुनेछ ।

पौडी

पौडीअन्तर्गत आज विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा फाइनल चरणका खेल हुनेछन् ।

सुटिङ

सातदोबाटोस्थित सुटिङ रेञ्जमा आज एउटा खेलको प्रतिस्पर्धा हुनेछ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग०मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ ।

आइतबारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्