इटहरीस्थत बिग बारमा आगलागी



नेपाल समाचारपत्र, विराटनगर।

सुनसरीको इटहरी चोकस्थित बिग बार एन्ड रेस्टुरेन्टमा आगलागी हुँदा करोडौंको क्षति भएको छ। इटहरीस्थित सूर्य कम्प्लेक्सको पाँचौं तलामा रहेको बिग बारमा आगलागी भएको हो।

आगलागीका कारण बिग बारको मात्र ४ करोडभन्दा बढीको क्षति भएको सञ्चालक किरण पराजुलीले जानकारी दिनुभयो। अन्य तलामा भने समान्य क्षति भएको प्रहरीले जनाएको छ। आगलागीबाट बिग बारमा रहेका सम्पूर्ण समान जलेर नष्ट भएका छन्।

पाँचौ तलमा आगलागी भएकाले आगलागी नियन्त्रणमा लिन निकै समस्या परेको थियो। राति १२ बजेबाट शुरू भएको आगलागी ४ बजेतिर नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो भने स्थानीयवासी, प्रहरी र सेना खटिएका थिए।

विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी धर्मराज भण्डारीले जानकारी दिनभुयो। यता होटलका सञ्चालक पराजुलीले भने आफू राति साढे ११ बजे होटलबाट निस्किएको र १२ बजेतिर नै आगलागी फैलिएकाले घटना शंंकास्पद रहेको बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्