भारोत्तोलनमा नेपाललाई १६ पदक



विजय नेपाली, पोखरा।
१३औं दक्षिण एसियाली खेलकुद (साग) भारोत्तोलनमा २ स्वर्ण, ३ रजत र ११ कास्य गरी १६ पदक हात पारेको छ। शनिबारसम्म १४ पदक जितेकोमा अन्तिम दिन आइतबारको खेलबाट नेपालले १ रजत र १ कास्य थप गरेको हो। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता थियो। भुटानको पहिलो सहभागिता रहेकोमा माल्दिभ्स खेल्न आएन।

प्रतियोगितामा भारतले सर्वाधिक ९ स्वर्ण जित्दा पाकिस्तानले ५ तथा नेपाल, बंगलादेश र श्रीलंकाले समान २–२ स्वर्ण जिते। भुटानले १ मात्र कास्यमा चित्त बुझायो। नेपालको तर्फबाट सञ्जु चौधरी (महिला ५९ केजी) र विकास थापा (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेका हुन्।
महिलातर्पm नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो। अघिल्लो १२ औं सागसम्म नेपालले भारोत्तोलनमा १ मात्र स्वर्णसहित २३ रजत र ८६ कास्य जितेको थियो। पहिलो स्वर्ण लिफ्टर कमलबहादुर अधिकारीको नाममा छ।यसैबीच, नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जित्न सफल भएका छन्।
सागरले स्न्याचतर्फ १ सय २० र क्लिन एन्ड जर्कमा १ सय ५५ गरी कुल २ सय ७५ तौल उठाएर आफ्नै कीर्तिमान तोडेका छन्। सो समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते। उनले स्न्याचतर्फ १ सय ५० र क्लीन एण्ड जर्कमा १ सय ८१ सहित कुल ३ सय ३१ किलो भार बहन गरेका हुन्।

प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए। उनले स्न्याचतर्फ १ सय २० र क्लिन एन्ड जर्कमा १ सय ४७ सहित कुल २ सय ६७ तौल उठाएका हुन्। खेलपछि प्रतिक्रिया दिँदै नेपाल भारोत्तोलन संघका अध्यक्ष तिलकबहादुर रावलले नेपालले हालसम्मकै उत्कृष्ट नतिजा ल्याएको भन्दै खुसी व्यक्त गरे।
नेपाली महिला ह्यान्डबललाई रजत
नेपालले जारी १३औं सागअन्तर्गत् महिला ह्यान्डबलको फाइनलमा भारतसँग ३६–२१ ले हारेर रजत पदकमै चित्त बुझाएको छ। नेपालले सागमा उत्कृष्ट पदर्शन गर्दै रजत पदक हात पार्न सफल भएको हो।

यसअघि १२औं सागमा नेपाली महिला ह्यान्डबल टिमले चौथो स्थान हासिल गरेको थियो। गत संस्करण १२औं सागदेखि परिचित भएको ह्यान्डबलतर्फ भारतले नै स्वर्ण जितेको थियो।

आर्चरीमा नेपाललाई ३ पदक

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगत आर्चरीमा नेपालले एक रजतसहित तीन पदक प्राप्त गर्न सफल भएको छ। नेपालका लागि कम्पाउन्ड (५० मिटर) मिक्स फाइनलतर्फ बंगलादेशसँग ८ अंकको अन्तरले हारेपछि रजत पदक प्राप्त गरेको हो।
नेपालले १ सय ४० अंक जोडेको थियो। बंगलादेशले भने १ सय ४८ अंक ल्याउन सफल भएको हो। १० प्रतिस्पर्धामध्ये ६ स्वर्णको छिनोफानो हुँदा सबै बंगलादेशले हात पारेको छ।

प्रतिक्रिया दिनुहोस्