जुडोमा देवीकाले जितिन् स्वर्ण



नेपाल समाचारपत्र, काठमाडौं।
जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोको पहिलो दिन नेपालले एक स्वर्णसहित ७ पदक जितेको छ । सातदोबाटोस्थित आर्मीको कभर्ड हलमा आइतबार नेपालको लागि देवीका खड्काले महिला ५२ केजीमुनि तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।
देवीकाले भारतकी टोकास गायत्रीलाई पराजित गरिन्। यस स्पर्धामा बंगलादेश र श्रीलंकाले कास्य जित्यो । पुरुष ६६ केजीमुनि भने नेपालका इन्द्रबहादुर श्रेष्ठ फाइनलमा भारतका जस्लिन सिंहसँग पराजित भएर रजतमै खुम्चिए। यस्तै महिला ५७ केजीमुनि नेपालकी मनिता श्रेष्ठ प्रधानले पनि रजतमै चित्त बुझाइन्।
उनी फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन्। पुरुष ७३ केजीमुनि नेपालका सञ्जित डंगोलले रजत जिते। फाइनलमा सञ्जित श्रीलंकाका नुवानसँग पराजित भए। महिला ६३ केजीमुनि नेपालकी निर्मला घर्ती मगरले रजत जितिन्। भारतकी निरुपमा देवीले स्वर्ण जित्दा बंगलादेश र श्रीलंकाले कास्य जित्यो।
फेन्सिङमा अर्को रजत

जारी १३औं सागअन्तर्गत फेन्सिङमा नेपालले आइतबार अर्को रजत पदक जितेको छ। महिला टिम फ्वेलमा नेपालले रजत जितेको हो। यससँगै नेपालले फेन्सिङमा दुई रजत पदक जितेको छ। यसअघि शनिबार भएको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरमा नेपालकी रविना थापाले स्वर्ण दिलाएकी थिइन्।
फेन्सिङमा नेपालले पुरुष टिम साबरमा कांस्य जित्यो। सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको नेपाली टोली फाइनलमा भने भारतसँग स्तब्ध बन्न पुग्यो।
डुवानालाई रजत 
पौडीतर्फ महिला २ सय मिटर बटरफ्लाइमा ड्वाना लामाले नेपालका लागि रजत पदक दिलाइन्। स्वर्णपदक भारतकी अपेक्षा देल्यालले जित्दा बंगलादेशकी जुनायान अहमेदले कास्य जितिन्।
महिला ५० सर्ट कोर्स ब्याक स्ट्रोकमा नेपालकी गौरिका सिंहले रजत पदक जित्दा मन्ना राजिभ पटेलले भारतका लागि स्वर्ण र भारतकै रिधिमा विरेन्द्रकुमारले कास्य पदक जिते। यस्तै ८ सय मिटर फ्रि–स्टाइल महिला रिलेमा भारतले स्वर्ण थप्दा श्रीलंकाकाले रजत र नेपालले कास्य पदकमा चित्त बुझायो।
फुटबलमा नेपाल फाइनलमा 
नेपाली फुटबल टोली १३औं सागको पुरुष फुटबलतर्फ फाइनलमा पुगेको छ। दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको हो। योसँगै नेपाल १० अंकसहित शीर्ष टोली हुँदै फाइनलमा पुग्यो। नेपालको जितमा खेलको १०औं मिनेटमा सुनील बलले निर्णायक गोल गरेका थिए।
नेपालले फाइनलमा भुटानसँग मंगलबार खेल्नेछ। गत संस्करणको विजेता नेपालले भुटानलाई लिग चरणमा ४–० ले हराएको थियो। यसको बाबजुद भुटानले यसपछि तीनै खेल जितेर इतिहास रचेको छ। भुटान साग फुटबलमा पहिलोपटक फाइनलमा पुगेको हो।
सुटिङमा नेपाल पदकविहीन
१३औं सागअन्तर्गत सुटिङतर्फ नेपाल अहिलेसमम पदकविहीन रहेको छ। आइतबार सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको १० मिटर एयर पेस्तोलतर्फ नेपालका सुटरहरू छनोट हुन नै असफल भएका हुन्। नेपालका तर्फबाट विपेश खड्का, सुकदेव चौधरी र बदरुद्दीन अन्सारीले छनोट चरणबाटै बाहिरिनुपरेपछि सुटिङमा पदक हात परेन।
सो विधामा भारतका श्रवन कुमारले २४१.५ अंकसहित स्वर्ण पदक जितेका छन्। यस्तै उक्त विधाको पुरुषको टिम इभेन्टमा भने नेपाल चौथो स्थानमा रहेर कांस्य पदकबाट वञ्चित भयो। भारतले नै स्वर्ण जितेको सो स्पर्धामा नेपाली टिमले १६५५ अंक जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्