नौ नेपाली बक्सर फाइनलमा 



कविरस शर्मा, काठमाडौं । 
१३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत आइतबार बक्सिंगको तेस्रो दिनको खेलपछि नेपालका महिला र पुरुष गरी कुल ९ मुक्केबाजले फाइनलमा स्थान बनाएका छन्।
आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई र सनिल शाही र गणेश प्रधानले फाइनलमा स्थान पक्का गरेसंगै नौ नेपाली बक्सर फाइनल पुगेका हुन्। महिला ५१ केजीमा मालाले श्रीलंकाकी कोसला निलमिनी अथाववुदा अचीलागेलाई अंकको आधारमा हराइन्।

त्यस्तै पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सनिलले पनि फाइनलमा प्रवेश पाए। ८१ केजी तौलको सेमिफाइनलमा गणेशले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। खेल शुरु भएको ३० सेकेन्ड नबित्दैे भारतीय मुक्केबाजलाई चोट लागेपछि रेफ्रीले प्रधानलाई विजयी घोषित गरेका हुन्।

त्यस्तै ५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासंग स्वर्णका लागि भिडन्त पक्का गरिन्। त्यस्तै ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा भने श्रीलंकाकी क्रिस्मि अयोमा दुलान्ज लंकापुरायालागसँग पराजित भइन्।

पुरुष ५२ केजीमा पाकिस्तानका सईद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भीथानागेलाई हराए। यसै तौल समूहको अर्को खेलमा नेपालका तेजबहादुर देउबा भारतका स्पर्श कुमारसंग अंकको आधारमा पराजित हँुदै काश्यमा सीमित भए। जितसँगै भारतका स्पर्शले फाइनलमा स्थान बनाए।

६० केजीकै अर्को खेलमा भारतका बरिन्दर सिंहले बंगलादेशका सुरा कृष्ण चक्मालाई हराउँदै फाइनलमा नेपालका सनिलसँग स्वर्णका लागि भिडन्त पक्का गरे। यसैगरी ६९ केजी तौलमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहिमलाई हराए। यसै तौलको अर्को खेलमा नेपालका विकास लामा भारतका कृशन विकाशसँग अंकको आधारमा पराजित भए।

यसैगरी ८१ केजी तौलमा पाकिस्तानका अवाईस अली खानले श्रीलंकाका रूमेश सान्डाकेलूम वान्नी अराचचिगेलाई पराजित गरे। ९१ केजीभन्दा माथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका ईरान्डा अुंराकाराम राल्लागेलाई हराउँदै नेपालका आशिष दुवाडीसँग फाइनलमा भेट पक्का गरे। सोमबार र मंगलबार क्रमशः फाइनलका आठआठ बाउट हुनेछ।
फाइनल पुग्ने नेपाली खेलाडीहरू
महिलातर्फ ललिता महर्जन (४८ केजी)

माला राई (५१ केजी)
मिनु गुरुङ (५४ केजी)
संगीता सुनार (६० केजी)
पूनम रावल (६४ केजी)
पुरुषतर्फ

आशिष दुवाडी (९१ केजी माथि)
भूपेन्द« थापामगर (६४ केजी)
सनिल शाही (६० केजी)
गणेश प्रधान (८१ केजी)

प्रतिक्रिया दिनुहोस्