‘यानमय’ नेपाल



‘यान’ भनेको सवारीसाधन हो भन्ने बुझेपछि धरहराले निर्णय लियो– नेपाललाई ‘यान’ को मुलुक मान्नुपर्छ। नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ठाउँ नपाएर आकाशमा यान घुमिरहने कारणले मात्र नेपाललाई ‘यानमय’ भनिएको होइन, न त केरुङ र वीरगन्जतिरबाट रेल नेपालको राजधानीसम्म आउने चर्चाले मात्र पनि यसो भनिएको होइन, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी सुदृढीकरणका लागि देशव्यापी अभियान चलाउने भएका कारण पनि मुलुक ‘यानमय’ भएको हो।

अभियान चलाउनु भनेको पनि यान चलाउनु नै हो। ‘यान’ विना ‘अभियान’ चलाउने कार्य सम्भव छैन। अभियान शब्द बन्नका लागि नै ‘अभि’ र ‘यान’ दुई खण्ड आवश्यक छ– नेकपा बन्न एमाले र माओवादी केन्द्र आवश्यक भएजस्तै। नेकपा र एमालेमध्ये कसलाई ‘अभि’ मान्ने र कसलाई ‘यान’– राजनीतिज्ञ र भाषाविद् दुवैको संयुक्त बैठक गरेपछि मात्र निर्णय हुनेछ।
रेल र पानीजहाजको सफलतामा प्रश्न उठिरहेका बेला ठूलै प्रश्न उठ्ने कार्य ‘पार्टी सुदृढीकरणका लागि देशव्यापी अभियान’ सुरु हुने भएको छ। गुटैगुटले खुँडिएका एमाले र माओवादी केन्द्रबीचको एकीकरणले यस दललाई कति सुदृढीकरण गर्ला !

त्यसमाथि प्रचण्डको ‘सक्रियता’ देख्न नचाहनेहरूले उनलाई के साथ देलान् ! यस्ता विषयमा आगामी दिनमा अझै बहस चल्नेछ। जेहोस्, मुलुकमा ‘यान’को चर्चाले व्यापकता पाउनेछ। यानप्रेमीहरूलाई धरहराको मार्मिक बधाई !

प्रतिक्रिया दिनुहोस्