१५औं योजना सबैभन्दा सफल हुन्छ : उपाध्यक्ष



नेपाल समाचारपत्र, काठमाडौं।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले आगामी १५औं योजना अहिलेसम्मका सबै योजनाभन्दा सफल हुने दाबी गर्नुभएको छ। ‘१५औं योजनामा नीति र कार्यान्वयनलाई सामञ्जस्य हुने गरी विकास कार्यक्रम ल्याइने भएकाले सबैभन्दा सफल हुने निश्चित छ,’ उपाध्यक्ष कँडेलले भन्नुभयो।

नेपाल खुला विश्वविद्यालयद्वारा आयोजित तथा राष्ट्रिय योजना आयोग र ग्लोबल सेन्टर फर रिसर्च एन्ड डेभलपमेन्टको सहआयोजनामा सञ्चालित ‘जीवनको गुणस्तरीयतामा सुधार ल्याउनका लागि आर्थिक रुपान्तरण बहस’ विषयक कार्यक्रममा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो।

उक्त कार्यक्रममा नेपाल र बंगलादेशका तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिएको थियो। नेपालका तर्पmबाट राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. पुष्कर बज्राचार्यले नेपालको आर्थिक रुपान्तरणः अवस्था, मुद्दा र पूर्वानुमान विषयमा र बंगलादेशका तर्फबाट एडीबीका पूर्वमहानिर्देशक डा. सुल्तान हाफिज रहमानले बंगलादेशको आर्थिक रुपान्तरणः अनुभव र सिकाइ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

नेपालको तर्फबाट प्रस्तुत भएको कार्यपत्रमा उत्पादकत्वमा ह्रास आएकाले निर्यातको तुलनामा आयात द्रुत गतिमा बढेको विषय उल्लेख गरिएको थियो। कृषिप्रधान मुलुक भए पनि कृषि वस्तुको उत्पादनमा ह्रास हुन गई आयातमा निर्भर हुन पुगेको स्पष्ट गर्दै कृषि क्षेत्रकोे कुल गार्हस्थ उत्पादनमा योगदान घटेको तथ्यांक प्रस्तुत गरिएको थियो।

औद्योगिक क्षेत्रको उत्पादकत्वमा पनि ह्रास आएकाले कुल गार्हस्थ उत्पादनमा यस क्षेत्रको योगदान पनि घटेको साथै रोजगारी सिर्जना हुन नसकेकोले रोजगारीको लागि युवा विदेश पलायन भएको तथ्यांक दिइएको थियो। वैदेशिक रोजगारीबाट विपे्रषण प्राप्त भए पनि राष्ट्रिय विकासको दृष्टिले दिगो नहुने स्पष्ट गरिएको थियो।

नीति र कार्यान्वयनमा समानजस्य नहुँदा गरिबीको दर घट्न नसकेको समेत उल्लेख गरिएको थियो। बंगलादेशको तर्फबाट प्रस्तुत भएको कार्यपत्रमा उद्योग, कृषि, मानव संशाधनको विकास, आयात तथा निर्यातको अवस्था प्रस्तुत गरिएको थियो।

त्यसैगरी शिक्षा, स्वास्थ्य, सरकारी मुद्रा नीति, औद्योगिक अवस्था र उत्पादनको विषयमा तथ्यांक प्रस्तुत गरिएको थियो। खुला विश्वविद्यालयका उपकुलपति डा. लेखनाथ शर्माले कार्यक्रमको अध्यक्षका रुपमा बोल्दै नेपाल र बंगलादेश विकासोन्मुख देश भएको र समान खालकै राजनीतिक, आर्थिक र सामाजिक परिवेशमा रहेकाले समानखाले समस्याको सामाना गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्