ब्याग कारखानामा आगलागी, ४३ को मृत्यु



नयाँ दिल्ली, (एजेन्सी)।

भारतको राजधानी नयाँ दिल्लीको एउटा ब्याग कारखानामा भयानक आगलागी हुँदा कम्तीमा ४३ जना कामदारको ज्यान गएको छ। आइतबार बिहान सबेरै नयाँ दिल्लीको घना बस्तीमा रहेको चारतल्ले भवनमा आगालागी भएको थियो।

दुर्घटनाको बेला कम्तीमा १ सय मानिस कारखानाभित्र सुतिरहेका थिए। विशेषगरी स्कुले ब्याग उत्पादन गर्ने सो कारखानाबाट ६० भन्दा बढीको उद्धार गरिएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनालाई ‘भयावह’ को संज्ञा दिँदै मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गरेका छन्।

दिल्लीको अग्नि नियन्त्रण सेवाले स्थानीय समयअनुसार बिहान ५ बजेर २२ मिनेट जाँदा आगलागीको खबर पाएको थियो। तल्लो तल्लामा शुरू भएको आगो कामदारहरू सुतिरहेको तेस्रो तल्लामा फैलिएको थियो।सँगैको घरमा बस्ने १७ वर्षीय रोनक खानले बताएका छन् , ‘मानिसहरू रोई कराई गरेको सुनेर हामी बिउँझेका थियौं।

मैले मानिसहरू फसिरहेको देखें। हामीले तिनीहरूलाई जसरी भए पनि छतमा आएको खण्डमा उद्धार गर्छौ भन्यौं। तर तिनीहरू माथि आउन सकेनन्। आजाद मार्केटमा रहेको सो कारखाना वरपर स–साना गल्लीहरू भएकाले घटनास्थलमा पुग्न अग्नि नियन्त्रकलाई कठिन भएको थियो।

अग्नि नियन्त्रक गल्लीमा राखिएका ग्रिल काट्दै आगो लागेको स्थानसम्म पुगेका थिए। त्यसैगरी उद्धारकर्मीले पीडितहरूलाई एक एक गरी काँधमा बोकेर ल्याएका थिए।
स्थानीय अग्नि नियन्त्रण सेवाको प्रमुख दिल्नावाज पासाले सो भवनसग आगलागीसम्बन्धी आवश्यक कागजात नभएको तथा त्यो कारखाना पनि अवैध ढंगले सञ्चालित रहेको बीबीसी हिन्दीलाई बताएका छन्।

आगलागी हुनाको कारण खुलेको छैन तर प्रारम्भिक अनुसन्धान र प्रत्यक्षदर्शीको भनाइअनुसार बिजुलीको गडबडीले यो घटना भएको अनुमान गरिएको छ। गृहमन्त्री अमित शाहले यस दुःखान्त घटनामा अमूल्य जीवनहरू नष्ट हुन पुगेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्