पत्रकार दानदासलाई थेम्मृङ पत्रकारिता पुरस्कार



नेपाल समाचारपत्र, काठमाडौं।

यस वर्षको थेम्मृङ पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई प्रदान गरिएको छ।तीन दशकदेखि सक्रिय रहनुभएका श्रेष्ठले पत्रकारितामार्फत समाज र राष्ट्रको विकासमा पुर्याउनुभएको योगदानलाई कदर गर्दै सो सम्मान दिइएको हो। पत्रकारिता जीवनको करिब १८ वर्ष नेपाल समाचारपत्रमा बिताउनुभएका श्रेष्ठ हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकका सम्पादकसमेत हुनुहुन्छ।

ठिमीको लिच्छविकालिन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिँदै आएको छ।सो अवसरमा ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तथ्यगत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो।

कुनै अमुक व्यक्तिले स्रोतविहीन समाचार लेखेकै भरमा त्यसलाई हुबहु सारेर प्रचार गर्ने भन्दा पनि तथ्यगत समाचार सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो। सो अवसरमा भक्तपुरमा दैनिक पत्रिकाको आवश्यकता र भक्तपुरमा पत्रकारिता अध्यापन गराउने कलेजको संख्यामा बृद्धि भएकोदेखि व्यावसायिक तथा पूर्णकालिन पत्रकारिता गर्नेलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयमा चर्चा गरिएको थियो।

समारोहमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष रामगोपाल तमखुलगायतले बोल्नुभएको थियो।

सञ्चारको अध्यक्षमा बाबुकृष्ण

मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनले बाबुकाजी साःछेँ श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।कार्यसमितिको उपाध्यक्षमा सागर गुरागाइँ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, सहसचिव पृथ्वीराम श्रेष्ठ रहनुभएको छ।

त्यसैगरी सदस्यहरू कृष्णकाजी मानन्धर(केके), विश्वेश्वर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, जगत प्रजापति हुुनुहुन्छ। निवर्तमान अध्यक्ष हरिबहादुर श्रेष्ठलाई सल्लाहकार तथा पदेन सदस्यमा मनोनित गरेको छ।

प्रतिक्रिया दिनुहोस्