झापाका राम लिम्बु दोस्रो भ्वाइस अफ नेपाल



लोकप्रिय गायन रियालिटी टेलिभिजन शो द भ्वाइस अफ नेपाल सिजन–२ को उपाधि राम लिम्बुले चुमेका छन्। उनले शनिबार राति राजधानीको हायत रिजेन्सी होटलमा खचाखच दर्शकका बीच आयोजित अन्तिम प्रतिस्पर्धाको अन्तिम ४ बाट उपाधि चुमेका हुन्।

हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको शोमार्फत कोच प्रमोद खरेलको टिमबाट लिम्बुले दोस्रो संस्करणको उपाधि चुमेका हुन्। उपाधि चुमेसँगै झापाका रामले ड्याटसन रेडी गो कार र १२ लाख रुपियाँ प्राप्त गरेका छन् भने १५ लाख रुपियाँबराबरको भिडियो एल्बम तथा विश्व सांगीतिक यात्राको अवसर उनले प्राप्त गरेका छन्।

द भ्वाइस अफ नेपाल सिजन–२ अन्तिम ४ प्रतिस्पर्धीका रूपमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ सांगीतिक प्रतिस्पर्धा गरेका थिए। अन्तिम ४ बाट प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएका हुन्।

द भ्वाइस अफ नेपाल दोस्रो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए। गत वर्ष कोच दीप श्रेष्ठको टिमबाट सीडी विजय अधिकारीले यस रियालिटी शोको टाइटल जितेका थिए।

प्रतिक्रिया दिनुहोस्