ओझेलमा परेको तपोभूमि “कालञ्जर पर्वत”



दुर्गाप्रसाद शर्मा

हिन्दू धर्मग्रन्थहरूमा पवित्र तपोभूमिका रूपमा व्याख्या गरिएको क्षेत्र हो पर्वत जिल्लाको उत्तरमा पर्ने ‘कालञ्जर पर्वत’। अहिले हम्पाल भनेर चिनिने यही पर्वत नै कालञ्जर पर्वत हो भन्ने विषयमा धेरै धर्मग्रन्थमा उल्लेख भएका तथ्यले पुष्टि गर्दछ। धेरै धर्मग्रन्थहरूमा कालञ्जर पर्वतको महिमा वर्णन मात्रै गरिएको छैन त्यहाँ पुगेर तपस्या गरेर धेरै ऋषिमुनिले सिद्ध प्राप्त गरेको उल्लेख छ।

पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको पाइन्छ।

हिमालय पर्वतका राजा र उनकी पुत्री पार्वतीसँग जोडिएको यो क्षेत्र पवित्र भूमिका रूपमा र तपस्यास्थलका रूपमा रहेको थियो। राजर्षि जडभरतले यस क्षेत्रमा तपस्या गरेको पुराणहरूमा उल्लेख गरेको पाइन्छ।एकपटक कालञ्जरमा रहेको मृग सरोवरमा स्नान गरे त्यहाँ रहेका भगवान् शिवको दर्शन गरेमा मात्रै पनि स्वर्गलोकमा जान पाइन्छ भन्ने मान्यता छ।

कालञ्जर पर्वतलाई बराहपुराणले भगवान् शिवको बासस्थानका रूपमा व्याख्या गरेको छ। कालञ्जर पर्वत र यससँग जोडिएका अन्य तीर्थस्थलहरू प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेका छन्। कालीगण्डकी नदीसँग जोडिएको कालञ्जर पर्वतको जलजला र मोदी गाउँपालिकामा पर्दछ। यसको केही भाग म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँग पनि जोडिन्छ।

समुन्द्री सतहदेखि कालञ्जर पर्वत ३ हजारदेखि ३ हजार ५ सय मिटरको उचाइमा छ भने प्रचीन धर्मग्रन्थहरूमा ‘मृग सरोवर’ का रूपमा उल्लेख गरिएको जलजला सिमसार क्षेत्र २ हजार ९ सय मिटरका उचाइमा छ। घना जंगल, हिउँदका केही महिना हिउँ पर्ने ठाउँ तपस्याका लागि सबैभन्दा उपयुक्त स्थलका रूपमा रहेको भेटिन्छ।

हनुमानले यही क्षेत्रबाट जडीबुटी लगेर औषधि उपचारमा प्रयोग गरेको धार्मिक ग्रन्थ रामायणमा उल्लेख छ। नीरमसी, पाँचऔलो सतुवालगायत बहुमुल्य जडीबुटीहरू प्रशस्त पाइने जलजला क्षेत्रको जंगलमा कालो वर्णको मृग, घोरल, चितुवा, भालु, डाँफे, मुनाल, कालिजलगायत पशुपक्षीको बसोबास छ। मातातीर्थ औंसीका दिन दिवंगत बुबाआमाको श्राद्ध गर्न जलजलामा जाने चलन छ। पूजाआजाका लागि शंकर भगवान्को मन्दिर बनाइएको छ।

धार्मिक ग्रन्थमा कालञ्जर पर्वत

कालञ्जर शब्दको अर्थ समय वा कालमाथि विजय प्राप्त गरेको भन्ने हुन्छ। प्राचीन धर्मग्रन्थका अनुसार मृत्यु र समयलाई जित्नका लागि सिद्ध तपस्यास्थल वा तीर्थभूमिको नाम नै कालञ्जर हो भनिन्छ। विभिन्न शब्दकोषले कालञ्जर भनेको पौराणिक पर्वत र तीर्थका रूपमा व्याख्या गरेका छन्।

अग्निपुराण, विष्णुपुराण र श्रीमद्भागवत् महापुराणले राजर्षि जडभरतको तपस्थली र उनका तीन जन्मसँग जोडेर कृष्णगण्डकीको सान्निध्यमा रहेको पवित्र भूमिका रूपमा कालञ्जरको व्याख्या गरेका छन्। कालञ्जर क्षेत्रको अध्ययन अनुसन्धान गरिरहनुभएका डा. जगन्नाथ रेग्मीका अनुसार महर्षि जडभरतले कालञ्जरसँगै जोडिएको म्याग्दीको पौलस्य आश्रम र गलेश्वर धाममा तपस्या गरेको र कालो मृगका रूपमा कालञ्जरमा घुमेको कुरा धर्मग्रन्थहरूमा पाइन्छ।

कालञ्जरमा कालो वर्णको मृग पाइने भएकाले पनि यसको व्याख्यालाई मान्न सकिन्छ। बराहपुराणमा भगवान् शिवको निवासस्थलका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने त्यहाँ रहेका भगवान् शिवको दर्शन गरे मात्रै कृष्णगंगा स्नानको फल मिल्छ भन्ने उल्लेख छ। स्कन्दपुराणको काशीखण्डअन्तर्गत पृथ्वीतलका मुक्तिप्रदायक मुख्य तीर्थस्थलमा कालञ्जर क्षेत्रको महिमा उल्लेख गरिएको छ।

स्कन्दपुराणमै कालञ्जर तीर्थबाट पनि नीलकण्ठेश्वर भगवान् काशीमा पुगेको उल्लेख गरिएको छ। कालञ्जरमा अहिले पनि भगवान् नीलकण्ठको मन्दिर रहेको छ। शिव पुराणमा नीलकण्ठ भगवान् महेश्वर कालञ्जर पर्वतमा लिंगका रूपले रहनुहुनेछ र त्यही नीलकण्ठेश्वर तीर्थमा स्नान गर्नाले सकल पाप नष्ट हुनेछन् भन्ने उल्लेख छ। श्रीमद्भागतवत् महापुराणमा शुकदेव स्वामीले राजा परीक्षितलाई भूगोलको उपदेश दिँदै जम्बुद्वीपका नौ खण्डका माझमा रहेको सुमेरु पर्वतको अवस्थिति बताएका छन्।

त्यसमध्येका २० पर्वतमध्ये कालञ्जर पर्वतको पनि व्याख्या गरिएको छ। पद्मपुराणमा महादेव र पार्वतीको क्रिडास्थल, पितृहरूको श्राद्धकर्मका लागि निर्देश गरिएका गंगासागर, ब्रह्मसागर, यमुना, कुरुक्षेत्र, नीलकण्ठ जस्तै कालञ्जर तीर्थलाई पनि उत्तम पितृतीर्थका रूपमा उल्लेख गरिएको छ। कालञ्जर क्षेत्रको सबैभन्दा धेरै व्याख्या महाभारतमा छ।

महाभारतको वनपर्वतअन्तर्गतका तीर्थयात्रा पर्वतमा ऋषि पुलस्त्यले भिष्मपितामह र युधिष्ठिरलाई तीर्थको माहात्म्य बनाउने क्रमा कालञ्जरको महत्व बताएका छन्। त्यही कालञ्जरमा अवस्थित देवदह मृगतीर्थ गरेको पावन सरोवर छ। त्यसमा स्नान गर्नाले हजार गाईदान गरे बराबरको पुण्य प्राप्त हुन्छ भनेका छन्।

हस्तिनापुरको राजपट छाडेर महाप्रस्थानतर्फ लागेका पाण्डव हिमालयको यात्रा गर्ने क्रममा कालीगण्डकी नदीका किनारैकिनार मुक्तिक्षेत्रतर्फ (मुक्तिनाथ, मुस्ताङ) बढेका थिए। त्यस बेला उनीहरू कालञ्जर पर्वतमा पनि आएका थिए भनिएको छ।

त्यहाँ पाइने ठूला ढुंगा, भीमपाइला, भीमगुफा नामले अहिले पनि रहेका छन्। कालञ्जरमै पर्ने हम्पाल पर्वत पौराणिक मान्यताले युक्त पर्वत भएको योगी नरहरिनाथको अनुसन्धानले पनि देखाएको छ।

मृग सरोवरलाई पुनर्जीवन दिने प्रयास

हिन्दू धर्मालम्बीले पितृ उद्धारका लागि गंगासागरदेखि मुक्तिनाथसम्मका तीर्थस्थललाई पवित्रस्थलका रूपमा मानेका छन्। गंगासागर जत्तिकै पवित्र तीर्थस्थलका रूपमा धर्मग्रन्थमा उल्लेख भएको प्राचीन मृग सरोवर अहिले सिमसार बनेको छ।

कालञ्जर पर्वतका विभिन्न टाकुरामा समथर भूगोल र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सीमा क्षेत्रमा पर्छ। जलजला गाउँपालिकाको नाम यसैबाट नामकरण भएको छ। हिन्दू धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ रामायण, स्कन्द पुराण, पुरुषोत्तम महात्म्यलगायतका ग्रन्थहरूमा व्याख्या गरिएको यही मृग सरोवारलाई पुनर्जीवन दिने योजना अघि सारिएको छ ।

भगवान् शिव र पार्वतीको क्रिडास्थल रहेको कालञ्जर पर्वतमा मृगले स्नान गर्ने, आफ्नो अनुहार आफंै हेरेर रमाउने मनोरम र पवित्र ‘मृग सरोवर’ रहेको ग्रन्थमा उल्लेख छ। ५ दशक अघिसम्म त्यहाँ ताल रहेको कालञ्जर क्षेत्रको अध्ययन गर्दै आउनुभएका स्थानीयबासी तथा सालिजा माविका प्रधानाध्यापक कृष्णप्रसाद पराजुली बताउनुहुन्छ।

पछिल्लो समयमा चारैतिरबाट आएको लेदोले भरिएपछि अहिले सिमसारका रूपमा रहेको छ। यसबाट निस्कने पानीको निकासमा बाँध बाँधेर ताललाई पुनर्जीवन दिन सकिने उहाँको भनाइ छ। ‘प्राचीन कालमा ‘मृग सरोवरमा स्नान गरेमा सबै पापबाट मुक्त भइन्छ भन्ने विश्वास थियो’, उहाँले भन्नुभयो– ‘अब धार्मिक र नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसलाई विकास गरेर जानुपर्छ।’

पर्वतको सबैभन्दा अग्लो भू–भाग हो कालञ्जर र हम्पाल क्षेत्र। हम्पालका अग्ला डाडाँका बीचमा प्राचीनकालमा मृग सरोवर रहेको विश्वास गरिएको छ। धर्मग्रन्थहरूमा त्यहाँ रहेको मृग सरोवरमा मृग स्नान गर्थे, कञ्चनपानीमा आफ्नो अनुहार हेरेर रमाउँथे भनिन्छ। त्यही सरोवरमा शिव–पार्वती पनि स्नान गर्थे भनिन्छ।

पाँच दशक अघिसम्म ताल देख्नेहरू छन् अहिले पुरिएको छ तर यसलाई नयाँ तालका रूपमा विकास गर्न सकिने सम्भावना छ। कालञ्जर पर्वत जडीबुटीको भण्डार हो।
कालञ्जर पर्वतलाई हनुमानले बोकेर लगेपछि वाण लागेका रामलाई उपचार गरिएको कथा रामायणमा समेत पढ्न पाइन्छ।

कालञ्जर पर्वत, सहस्रधारा, पाङमा भगवान् शिव र माता पार्वतीको क्रिडास्थल हुन भन्ने विश्वास गरिन्छ। पर्वतको पाङमा जन्मेकी पार्वती गर्मीयाममा कालञ्जर पर्वत पुग्थिन् भन्ने विश्वास छ।

यही धार्मिक विश्वासका आधारमा धर्मग्रन्थमा नै किटान भएको कालञ्जर जलजला क्षेत्रलाई समेटेर तालसहितको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नयाँ योजना अघि सारिएको छ।

पर्यटकीय र जैविक विविधतालाई समेत समेटेर विषयमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन गण्डकी प्रदेश सरकारले सहयोग गर्ने भएको छ। कालञ्जर क्षेत्रलाई धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा गर्नका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभाका सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसहितको उच्चस्तरीय अवलोकन भ्रमणसमेत सम्पन्न भएको छ। यसले छिट्टै पर्यटकीय गन्तव्य बन्नका लागि सहयोग पुग्ने विश्वास लिन सकिन्छ।

धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्छ कालञ्जर र मृग सरोवर

गण्डकी प्रदेश आफैंमा पर्यटकीय राजधानी हो। मुक्तिनाथ जस्ता प्रसिद्ध धार्मिकस्थलदेखि पोखरा, अन्नपूर्ण आधार शिविर, पुनहिल, मुस्ताङ, कालीगण्डकी नदीकिनारका तीर्थस्थल, मनाङ, उत्तरी गोरखा, ढोरपाटन, पञ्चासे जस्ता अहिले पनि पर्यटकको चाप हुने प्रशस्त पर्यटकीयस्थल छन् यस क्षेत्रमा।

गण्डकी प्रदेशले सन् २०२२ सम्म भ्रमण वर्ष मनाइरहेको छ, संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन सबै तयारी गरेको छ। यस्तो अवस्थामा भारतबाट ठूलो संख्यामा हिन्दू धर्मावलम्बी मुुक्तिनाथ जानेछन्। धार्मिक ग्रन्थहरूमा पवित्र सरोवरका रूपमा व्याख्या भएको मृग सरोवरलाई पुनर्जीवन दिने हो भने उनीहरूलाई जलजलासम्म लाग्न सकिन्छ।

भारतीय पर्यटक मात्रै होइन घोरेपानी तथा पुनहिल पुग्ने बाह्य र आन्तरिक पर्यटकलाई जलजलासम्म ल्याउन सकिन्छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले कालञ्जर पर्वत, मृग सरोवर, भमरकोटलगायतका क्षेत्रलाई जोडेर एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कुरामा सधैं सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।

‘आकर्षक धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना छ’, उहाँले भन्नुभयो– ‘सबै तहका सरकारका बीचमा समन्वय गरेर यसलाई अघि बढाइनेछ।’ गण्डकी प्रदेश सरकारले जलजला क्षेत्रको पर्यटन गुरुयोजना बनाउन सहयोग गर्ने मन्त्री विकास लम्सालले प्रतिबद्धता जनाउनुभयो।

‘जलजला सिमसार क्षेत्रको भौर्गभिक अध्ययन गरी डीपीआर बनाउन प्रदेश सरकारले सहयोग गर्छ’, उहाँले भन्नुभयो– ‘भारतको उत्तराखण्डको नैनीताललाई बिसाउने गरी मृग सरोवरलाई पुनर्जीवन दिन सकिन्छ।’ पर्वतको सबैभन्दा उच्च स्थान कालञ्जर पर्वत (हम्पाल) बाट हिमशृंखला, सूर्योदय, सूर्यास्त र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। धौलागिरि अन्नपूर्ण, नीलगिरी, गुर्जा, पुथा, माछापुच्छ«े, मनास्लुलगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न सकिन्छ। लालीगुराँसको जंगल रहेको जलजलामा पोखरी आकारको ठूलो फाँट रहेको छ।

जलजलामा रहेको सिमसार क्षेत्रमा बाँध बाध्ने हो भने ताल बनाउन सकिन्छ। यसबाट निस्कने पानीको निकासमा बाँध बाँधेर ताललाई पुनर्जीवन दिन सकिने विकल्प छ तर अहिले पानी कति संग्रहित हुन सक्छ भनेर भौगर्भिक अध्ययन हुन जरुरी छ।

ताल बन्न सक्ने हो भने भारतको उत्तराखण्ड राज्यमा पर्ने पर्यटकीय गन्तव्य नैनीताललाई बिर्साउने पक्कै बन्नेछ। लालीगुराँस र हिमालको दृश्य तालमा पर्दा पर्यटक लोभिने विश्वास जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लको छ।

‘जलजला र हम्पाल क्षेत्रमा पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्य बनाउने योजना सफल हुने विश्वास छ’, उहाँले भन्नुभयो– ‘उच्चस्तरीय अवलोकन भ्रमणले हाम्रा योजना सफल बनाउन बल पुगेको छ।’

भक्तजन र पर्यटकलाई पदमार्ग, खाने बस्ने होटल तथा लजको अभाव छ। सालिजाको तारे र मोदी गाउँपालिकाको देउराली हँुदै जलजलासम्म सडक र पदमार्ग पुर्याउने योजना अघि सारिएको छ।

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत पर्ने जलजलामा पर्वतको लेकफाँट, सालिजा, लेसपार, म्याग्दीको ना·ी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरी हँुदै जलजला पुग्न सकिन्छ।

मोदी र जलजला गाउँपालिका मिलेर यसलाई पर्यटकीय गन्तव्य बनाउनका लागि साझा योजना र कार्यक्रम अघि सार्न आवश्यक भएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल बताउनुहुन्छ।

मोदी र जलजला गाउँपालिकाले ताल बनाउने स्थानसम्म सडक पुर्याउन जरुरी छ। त्यसमाथि पदमार्गहरू बनाउन जरुरी छ।निजी क्षेत्रलाई लिजमा लिएर पनि पूर्वाधार बनाउन सकिन्छ। नैनीताल बिर्साउने गरी पूर्वाधारको विकास जरुरी भइसकेको छ।

त्यहाँबाट पदयात्रा गराउँदै घोरेपानीसम्म लैजाने, घोरेपानीबाट फर्केर यही बाटो म्याग्दी र पर्वतका पर्यटकीय गाउँ हुँदै मुख्य राजमार्गमा झार्न पनि सकिन्छ। कालञ्जर पर्वतसँग गलेश्वरधाम र पौलत्स्य ऋषिको तपस्यास्थल पनि जोडिने भएकाले यसलाई समेत मिलाएर एकीकृत योजना बनाउन सकिन्छ।

गाई संरक्षणका लागि गौ महोत्सव

हिन्दू धर्मालम्बीले गाईलाई साक्षात देवीका रूपमा पुज्छन्। स्थानीय जातका गाईको मुत्र, दूध, घ्यू, गोबरदेखि सबै पवित्र र औषधिजन्य गुण हुन्छन्। आजकल गाई हराउँदै गएका छन्।

लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमै पहिलोपटक कालञ्जरको फेदी धाइरिङमा मंसिर तेस्रो साता गौ महोत्सव र महायज्ञ लगाइँदै छ। गण्डकी गोपाल गौशाला धाइरिङको आयोजनामा आगामी मंसिर १९ देखि २६ गते सम्म महोत्सव आयोजना गरिएको हो।

जलजला गाउँपालिका–७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढीकरण र गाई संरक्षणसँगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचारप्रसारका लागि कालञ्जर पर्वतको फेदी र कालीगण्डकी नदीकिनारमा रहेको मिलनचोकमा गौमहोत्सव एवं महायज्ञ गर्न लागिएको मूल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो।

धार्मिक र पर्यावरणीयरूपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलोपटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणका लागि पहल गर्ने उद्देश्यले गौ महोत्सवका रूपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्