हिंसा हटाउन महिला–पुरुषबीच हातेमालो आवश्यक



नेपाल समाचारपत्र, काठमाडौं।

प्रदेश नं २ र ६ मा गरेको एक अध्ययन अनुसार महिला हिंसाका घटनाहरू हेर्दा घरेलु हिंसा, प्रविधिजन्य हिंसा, बलात्कार, बहुविवाह, बालविवाह, मानव तस्करीलगायत रहेको पाइएको छ।

संकल्प, दलित महिला संघ, मानव अधिकारका लागि एकल महिला समूहले संयुक्त रूपमा गरेको अध्ययनबाट सो अवस्था बाहिर आएको हो। संस्थाले प्रदेशको आधिकारिक निकायमा दर्ता गरिएका महिला हिंसाको मुद्दाहरूलाई हेर्दा कतिपय ठाउँमा उजुरी नै नपरेको, नयाँ प्रकारको हिंसाको सम्बोधन र उजुरी गरेका मुद्दाहरूको सुनुवाइ नभएको पाइएको छ।

कार्यक्रममा पितृसत्तात्मक सोच नै महिला हिंसाको कारक तत्व भएकाले यसलाई परिवर्तन गर्न सरोकारवालाबीच समन्वय र सहकार्यमा काम आगडि बढाउनुपर्नेमा सञ्चारमाध्यममा आबद्ध पुरुषहरूले जोड दिएका छन्।

सञ्चार क्षेत्रमा आबद्ध पुरुषहरूले महिलामाथि हुने विभिन्न प्रकारका हिंसाको घटनालाई कम गर्न यससम्बन्धी वास्तविक तथ्यांक बाहिर ल्याउन आवश्यक रहेको बताउँदै तथ्यांकविना सञ्चारमाध्यमले यस्ता समस्यालाई तथ्यपरक ढंगबाट बाहिर ल्याउन नसक्ने बताएका छन्।

सञ्चारिका समूहका पूर्वअध्यक्ष निर्मला शर्माले सहजीकरण गर्नुभएको सो कार्यक्रममा महिला अधिकारकर्मी लिलि थापाले पछिल्लो समय बदलिँदै गएको हिंसाको स्वरुपहरूबारे अनुसन्धान गर्न आवश्यक रहेको बताउँदै हिंसाविरुद्ध आवाज उठाउँदा यसले आफूलाई नै फाइदा हुन्छ भन्ने विषयमा सचेत हुन आवश्यक रहेको बताउनुभएको छ।

कार्यक्रममा नेपाल समाचारपत्रका सम्पादक कपिल काफ्लेले महिलामाथि हुने हिंसाको कारक तत्व पितृसत्तात्मक सोच रहेको र त्यो पुरुषमा मात्र नभई महिलामा समेत रहेकाले त्यसलाई हटाउन महिला पुरुषबीच हातेमालो आवश्यक रहेको औंल्याउनुभयो।

विश्लेषक युग पाठकले हिंसा अन्त्यका लागि अहिलेसम्म गरेका अभियानहरूको पुनर्मूल्यांकन आवश्यक रहेको बताउनुभयो। पत्रकार दिलभूषण पाठकले हिंसा अन्त्यको अभियानलाई साच्चिकै परिणाममुखी बनाउन सम्पूर्ण क्षेत्रको सहकार्य बलियो हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा खोजपत्रकारिता केन्द्रका बाबुराम विश्वकर्माले प्रदेश नं २ का ८ जिल्लामा खोज पत्रकारिता केन्द्रले गरेको अध्ययन अनुसार महिला हिंसा १६ गुणाले बढेको जानकारी गराउनुभएको छ।

सञ्चारकर्मी सुमन बस्नेत, अशोक दर्नालले नेपालमा कुनै पनि विषयमा अध्ययन अनुसन्धान गर्ने विज्ञ संस्थाको खाँचो औंल्याउँदै महिला सम्बन्धीे सूचनाको हक, स्वतन्त्रताको हकलाई अभियानले एक ठाउँमा जोड्न आवश्यक रहेको बताउँदै महिला सशक्तिकरण अभियानमा मूल्य उपयोगिताको विश्लेषण हुन जरुरी रहेको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्