पारिलो घाममा पढाइ



नेपाल समाचारपत्र, बाँके।

चिसो बढ्दो छ। घाम प्यारो लाग्ने दिन शुरु भइसकेको छ। जानकी गाउँपालिका–३, बन्जारे गाउँको आधारभूत विद्यालयको चौरमा विद्यार्थीहरू पढिरहेका छन्। घामको मज्जा पनि लिँदै छन्।चौरमा पढिरहेका विद्यार्थीको समूह ‘गोलाकार’ देखिन्थ्यो।

ठूलो गाउँमा रहेको स्कूलमा विद्यार्थी किन थोरै ? जोकोहीलाई उत्सुकता लाग्न सक्छ। नेपालगन्जबजारदेखि मुश्किलले चार किलोमिटर टाढा रहेको यो विद्यालयमा विद्यार्थी संख्या त ठिकै रहेछ। दैनिक आउनेको संख्या रजिष्टरको भन्दा फरक हुँदोरहेछ।

प्रधानाध्यापक आदित्यकुमार बर्माका अनुसार, २ सय ४५ जना विद्यार्थी छन्। बालविकासमा २६, कक्षा १ मा ३२, २ कक्षामा २७, ३ कक्षामा ३४, ४ कक्षामा २८, ५ कक्षामा ३१, ६ कक्षामा १८, ७ कक्षामा ११ र ८ कक्षामा १२ जना विद्यार्थी छन्। प्रधानाध्यापक बर्माले भने जति विद्यार्थी ‘कक्षा कोठा’मा त देखिएनन्।

चौरमा बसेका सानो झुण्डले स्कूलको रजिष्टरको संख्यालाई गिज्याईरहेको थियो। १२ जना रहेको आठ कक्षामा जाँदा ७ जना, ३१ जना रहेको पाँच कक्षामा जाँदा १५ जना विद्यार्थी भेटिए। रजिष्टरको संख्या र कक्षा कोठाको उपस्थिति आधाआधी नै फरक थियो।

किन सबै विद्यार्थीहरू स्कूल आउदैनन् ? प्रधानाध्यापक बर्माले प्रष्ट रूपमा भन्नुभयो, «‘भर्ना भएकाहरू सबै कक्षामा उपस्थित हुँदैनन्। उनीहरू वर्षमा कम्तीमा दुई पटक विद्यालयमा आउँछन्। त्यो भनेको छात्राबृत्ति वितरण हुँदा र परीक्षामा।’

प्रधानाध्यापक बर्माका अनुसार, आमाबुवा काम गर्न खेतमा जाँदा बालबालिकाहरू स्कूल नआएर घर कुर्न बस्छन्। रोपाइँ, धान काट्ने बेला होस् या आमा माइतीजाँदा बालबालिका विद्यालय आउँदैनन्। विद्यार्थीलाई नियमित गराउन साह्रै गाह्रो छ।

विद्यालयको गेटमै रहेको घरलाई देखाउदै प्रधानाध्यापक बर्मा भन्दै हुनुहुन्थ्यो कि ती बच्चा भर्ना त भएका छन्। तर, विद्यालय आउँदैनन्। नयाँ शैक्षिक सत्र शुरु हुनुअघि विद्यार्थी, व्यवस्थापन समितिका साथै गाउँका अगुवाहरू बाजागाजाका साथ घरघरमा गएर उमेर पुग्ने समूहका विद्यार्थीलाई भर्ना गर्ने गर्दछन्।

यसरी भर्ना भएका विद्यार्थी भने ‘गोल’ नै हुने गरेका छन्। बीचैमा कक्षा छोड्ने (ड्रपआउट) पनि धेरै छैनन्, बन्जारे गाउँमा। खाली नियमित नआउने समस्या ठूलो रहेको छ। मधेसी समुदाय बाहुल्य रहेको विद्यालयमा नियमित विद्यालय नआउने समस्या अरू समुदायको भन्दा बढी नै रहेको छ।

जिल्लाको दक्षिणभेगका विद्यालयमा यस्तो समस्या बढी रहेको छ। जान्नेबुझ्ने र हुनेखाने धनीवर्गले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने र गरिबले सकेसम्म छोराछोरीलाई भर्ना नै नगर्ने र गरिहाले पनि नियमित पठाएको पाइँदैन। सरकारले उमेर पुग्ने समूहका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने अभियानहरू चलाउँदा बालबालिका विद्यालय त प्रवेश गर्छन् तर टिकाउ हुने गरेको छैन।

प्रतिक्रिया दिनुहोस्