बदर मत कहाँ कति ?



सुनील महर्जन, काठमाडौं।

उपनिर्वाचनमा बदर मत संख्या न्यून रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगले विगतमा खसेको मत र बदरमतको तुलना गर्दै यसपटक बदर मत न्यून रहेको जनाएको हो। उपनिर्वाचनको मतपत्र सानो र छरितो, केही स्थान र क्षेत्र मात्र भएकाले बदर मत संख्या कमी भएको हो।

गतसाता भएको उपनिर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो। आयोगका अनुसार कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य–१ पदका लागि मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकामा ४५ हजार ५ सय ४६ जना मतदाताले मतदान गरेका थिए। यसमध्ये सदर मत संख्या ४४ हजार ९ सय ४६ र बदर मत संख्या ६ सय रहेकामा बदर मत प्रतिशत १ दशमलव ३२ रहेको छ।

यसै गरी भक्तपुर निर्वाचन क्षेत्र नं. १ को १, बागलुङको निर्वाचन क्षेत्र नं. २ को २ र दाङको निर्वाचन क्षेत्र नं. ३ को २ गरी जम्मा प्रदेशसभा सदस्य–३ पदका लागि मतदाता संख्या १ लाख ४८ हजार ९ सय १८ रहेकामा ९८ हजार ७ सय ३४ जना मतदाताले मतदान गरेका थिए। सदर मत ९७ हजार ६७ र बदर मत १ हजार ६ सय ६७ रहेकोमा बदर मत प्रतिशत १ दशमलव ७१ रहेको छ।

स्थानीय तहका सदस्यतर्फ सुनसरीको धरान उपमहानगरपालिका प्रमुख–१, पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष–१, संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष–१, महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष–१, हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष–१ र विभिन्न नगरपालिका/गाउँपालिकाका वडाध्यक्ष–४३ गरी ४८ पदका लागि जम्मा २ लाख ३३ हजार ३ सय २५ मतदाता रहेकोमा १ लाख ५४ हजार ८ सय ३५ जनाले मतदान गरेका थिए। यसमध्ये सदर मत १ लाख ५२ हजार ४ र बदर मत २ हजार ७ सय ७० रहेको थियो।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुखका लागि ९२ हजार ८ सय ५३ जनामध्ये ५४ हजार ८ सय ४६ जनाले मतदान गरेकोमा सदर मत ५३ हजार ७ सय ५ र बदर मत १ हजार १ सय ४१ रहेको थियो।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि ३ हजार ३ सय ८७ मतदातामध्ये २ हजार ८ सय ६९ जनाले मतदान गरेकामा सदर २ हजार ८ सय ४९ र बदर मत २० रहेको थियो। निर्वाचन आयोगका प्र्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बदर मत संख्या घट्नुको थप कारणमा मतदाता शिक्षा प्रभावकारिता हो।

‘मतदाता शिक्षा कार्यक्रममा प्रयोग गरिएको नमुना मतपत्र, जानकारीमूलक पोस्टर, ब्रोसर आदिका साथै मतदाता शिक्षा कार्यकर्तामार्पmत सञ्चालन गरिएको घरदैलो कार्यक्रमले गर्दा बदर मतसंख्या घटेको हुनुपर्दछ।’ –उहाँले भन्नुभयो।

बदर मत घट्नुमा निर्वाचन हुने स्थान, साक्षरता, मतदाता शिक्षालगायत तत्वले काम गर्ने उल्लेख गर्दै केही क्षेत्र र स्थानमा हुने उपनिर्वाचनलाई आम निर्वाचनसँग तुलना गर्नु उपर्युक्त नहुने निर्वाचन पर्यवेक्षकहरूको भनाइ छ। दुईदेखि तीन प्रतिशत बदर मत स्वाभाविक र त्यसभन्दा बढी अस्वाभाविक रहेको राष्ट्रिय निर्वाचन पर्यवेक्षक (नियोक) का उपाध्यक्ष प्रा. कपिल श्रेष्ठले बताउनुभयो।

‘बदर मत प्रतिशतलाई न्यून बनाउन आयोग, राजनीतिक दल, उम्मेदवार र स्वयं मतदाताको विशेष सक्रियता जरुरी छ’, उहाँले भन्नुभयो– ‘आगामी निर्वाचनमा समेत बदर मत न्यूनीकरण गर्दै लैजाने चुनौती देखिएको छ।’

नियोकका महासचिव गोपालकृष्ण शिवाकोटीले शहरी क्षेत्र र रिक्त स्थानमा मात्र मतदान हुने भएपछि सोहीअनुरूपको मतपत्र हुने भएकाले यसलाई मतदाता शिक्षा प्रभावकारी भएको अर्थमा लिन नहुने विचार राख्नुभयो।

निर्वाचन शिक्षामा संलग्नहरूमा कमजोर समावेशिता रहेको, निर्वाचन शिक्षा सञ्चालन र सामग्री छनोटमा व्यापकता नभएको र विषयवस्तुको विविधतालाई ध्यानमा नराखिएको उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्