ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर



अमृत अर्याल, स्याङ्जा ।

नगरपालिका भएर पनि स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको वालिङ ३ माझकोटमा निशुल्क स्वास्थ्य शिविर गरिएको छ । एक दिने स्वास्थ्य शिविर वालिङ हस्पिटल प्रालिको सहयोगमा र वडा कार्यालयको व्यवस्थापनमा शिविर आयोजना गरिएको हो ।

नीजि क्षेत्रबाट संचालित वालिङ हस्पिटलले बेला बेलामा स्वास्थ्यको पहुँच नपुगेको क्षेत्रमा पुगेर शिविर मार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । ९८ प्रतिशत गुरुङ् समुदायको बसोवास रहेको माझकोटमा एकदिने स्वास्थ्य शिविरबाट २ सय ५० लाभान्वित भएका छन् ।

तिन डाक्टर सहित अन्य स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको वालिङ हस्पिटल प्रा.लि.का अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिनुभयो ।

सेवा नै धर्म हो भन्ने सन्देश सहित सेवा दिन वालिङ हस्पिटल उद्यत रहेको छ अध्यक्ष पौडेलले भन्नुभयो,“स्वास्थ्य सेवाबाट बन्चित रहेका ग्रामिण क्षेत्रको पहिचान गरि सेवा दिने हाम्रो लक्ष्य हो ।” स्वास्थ्यमा राज्यको पहुँच नपुगेको क्षेत्रमा नीजि क्षेत्रले पनि सेवा प्रवाह गर्नुपर्छ भन्ने हाम्रो उदेश्य हो अध्यक्ष पौडेलले थप्नुभयो ।

वालिङ, गल्याङ, चापाकोट नगरपालिका लगायत कालीगण्डकी गाँउपालिका र दक्षिणी भेग पर्वतका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्ने उदेश्यले संचालित वालिङ हस्पिटलले बेला बेलामा शिविर मार्फत पनि निशुल्क सेवा दिदै आएको छ ।

शिविरबाट पुरुष भन्दा बढी महिलाले सेवा लिएको आयोजकले जनाएको छ । यस्ता शिविर विभिन्न वडा, वडा मा राख्नु आवश्यक छ वालिङ नगरपालिका ३ का वडा अध्यक्ष शुकराज गुरुङ्ले भन्नुभयो,“पैसाको अभावमा सामान्य स्वास्थ्यको चेकजाँच गर्न नसक्ने नागरिकका लागि यस्ता शिविर लाभदायक हुनेछन् ।” यो शिविरले माझकोटवासीलाई ठुलो सहयोग मिलेको गुरुङ्ले बताउनुभयो ।

स्वास्थ्य जस्तो संवेदशिल क्षेत्रमा राज्य उदाशिन बनिदिदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा स्वास्थ्य शिविरले नागरिकलाई राहत मिलेको वडा अध्यक्ष गुरुङ्को भनाई छ ।

शिविरमा प्रेसर, सुगर, मुटु रोग, ग्यास्ट्रिक, रुघाखोकी, महिलाको पाठेघरको समस्या सम्वन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सामान्य रोग मानेका कारण बल्झिदै जादा ठुलो समस्या देखिने अवस्था आएकाले शिविरमा करिव १ घण्टा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम पनि गरिएको हस्पिटलका सचिव खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

९० जनाको भिडियो एक्सरे, ३० जनाको पाठेघर सम्वन्धी परिक्षण, ६ जनालाई पाठेघरमा देखिएको समस्या समाधानका लागि रिङ लगाएर सेवा दिइएको अर्यालले बताउनुभयो ।

निशुल्क औषधी सहित आयोजना गरिएको शिविरमा डा. अन्जना अर्याल, डा. सन्दिप चौलागाँई, डा. सुनिता गुरुङ लगायतका दुई दर्जन स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

सो शिविरमा स्थानीय समाजसेवी पदमराज गुरुङ्ले स्वास्थ्य चौकीलाई निशुल्क एक थान बेड हस्तान्तरण गर्नुभएको छ । नीजि क्षेत्रबाट संचालित भएको स्वास्थ्य संस्थाले ग्रामिण क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको स्वास्थ्य प्रति देखाएको चासो सकरात्मक भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्