१५औं साधारणसभा तथा नवौं अधिवेशनबाट मिलनको नयाँ कार्यसमिति चयन



प्रताप बानियाँ, म्याग्दी ।

मिलन म्याग्दीको १५औं साधारणसभा तथा नवौं अधिवेशनबाट शिव बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संस्थाको शनिबार सदरमुकाम बेनीमा सम्पन्न नवौं अधिवेशनले बानियाँको अध्यक्षतामा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संस्थाको निवर्तमान अध्यक्षमा विनय श्रेष्ठ, उपाध्यक्षमा कमला थापा, सचिवमा दिलमाया बिटालु, कोषाध्यक्षमा तिलकुमारी राना र सहसचिवमा ज्ञानुकुमारी केसी निर्वाचित भएका छन् । संस्थाको कार्यसमिति सदस्यहरुमा चन्द्रकला खत्री, गिरेन्द्र बानियाँ, प्रताप बानियाँ र रतिका मिजार निर्वाचित भएका छन् ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला, बालबालिका तथा ज्येष्ठनागरिक पूर्व मन्त्री थममाया थापाले सामाजिक रुपान्तरणको अभियानमा गैरसरकारी संघ संस्थाहरुको भूमिका अपरिहार्य रहेको बताएकी छिन् ।

उनले समाज रुपान्तरण र परिवर्तनका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउँदै राज्य नपुगेका ठाउँमा गैससहरु पुगेर सामाजिक अभियानका कामहरु गर्नुपर्ने बताइन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले स्थापनाकालदेखि नै मिलन म्याग्दीले सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको हुँदा यसलाई निरन्तरता दिन सुझाव दिए ।

उनले पछिल्लो समय सुआहारा कार्यक्रममार्फत पनि महिला तथा बालबालिकाको स्वास्थ्यका क्षेत्रमा सचेतनामूलक कार्यहरु गरिरहेको बताउँदै म्याग्दी जिल्लाको सामाजिक र भौतिक निर्माणको क्षेत्रमा समेत काम गरेको बताएका छन् ।

कार्यक्रममा बेनी नगरपालिका–७, बेनीका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र मिलन म्याग्दीका कार्यकारी निर्देशक एवं गैरसरकारी संस्था महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य दिवाकुमारी पुनले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा धवलागिरी गाउँपालिका–६, मराङको ठूलोखोला झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिलाई निर्धारित समयमै पुल निर्माणसम्पन्न गरेको तथा संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै सामाजिक परिचालक रिजन तिलिजालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्