मकवानपुरमै मदन भण्डारी विश्वविद्यालय



न्युज अफ नेपाल, हेटौंडा, ।

चिनियाँ सरकारको सहयोगमा मकवानपुरको थाहानगर—९, चित्लाङमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको औपचारिक सुरुवात गरिएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका वरिष्ठ प्राविधिक एवम् परामर्शदाता र थाहानगर मेयर लवशेर बिष्टसहितको सहभागितामा विश्वविद्यालयको निर्माणस्थलमा सोबारेको साइनबोर्ड राखिएको हो ।

स्थानीयको उल्लेख सहभागितामा निर्माणका लागि फिल्ड अफिसको रेखांकन गर्ने कार्य भएको छ । मदन भण्डारी विज्ञान प्रविधि विश्वविद्यालय विकास समितिले वातावरणीय प्रभाव मूल्यांकनका निम्ति परामर्शदाता छनोट गर्न सार्वजनिक सूचना प्रकाशन गरिसकेको छ ।
पाँच करोड लागतमा निर्माण हुने फिल्डअफिसको टेन्डर एक साताभित्र सार्वजनिक हुनेछ ।

विश्वविद्यालयका लागि अन्यत्रसमेत जग्गा खोजी भइरहेकोमा चिन्तित चित्लाङबासीको चिन्ता निर्माण कार्य सुरु भएसँगै हटेको मेयर बिष्टले बताउनुभयो ।

असार २५ गते सम्पन्न थाहानगरको पाँचौ नगरसभाबाट विश्वविद्यालय स्थापनाका लागि मन्त्रिपरिषद्ले गरेको निर्णयको स्वागत गर्दै संघीय सरकारलाई धन्यबाद ज्ञापन गरेको थियो ।

उक्त विश्वविद्यालय स्थापनाका लागि थाहास्थित चित्लाङको स्वच्छन्द भैरव माध्यमिक विद्यालय र त्यसआसपास पर्तीसमेत गरी ७ सय ४० रोपनी जग्गा विश्वविद्यालय स्थापनाका लागि दिने नगरसभाबाट निर्णय भएको थियो ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि पनि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशका अध्यक्ष प्राध्यापक डा. राजेन्द्रध्वज जोशी चित्लाङबाट विश्वविद्यालय कहींकतै नजाने दाबी गर्नुहुन्छ ।

निर्णयमा नै स्पष्टरुपमा चित्लाङमा विश्वविद्यालय रहने उल्लेख भएको भन्दै उहाँले चित्लाङबाट विश्वविद्यालय सर्ने कुराप्रति आफ्नो विश्वास नभएको बताउनुभयो । पूर्वाधार निर्माण समिति सरकारले गठन गरेको हो ।

विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएर पनि अन्यत्र जग्गा खोजी गरिँदै आएको छ । उपत्यकाबाट करिब ४० किलोमिटर दुरीमा रहेको पाँचखालमा विश्वविद्यालय स्थापना हुन लागेको एकथरिको दाबी छ । विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने बताइएको छ ।

थाहानगरको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको १७९ रोपनी १२ आना दुई पैसा जग्गा उक्त विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको नाममा भोगाधिकार प्रदान गर्ने निर्णय सरकारले गरेको छ ।

‘हामीले विश्वविद्यालय निर्माणको लागि चाहिने जग्गाको व्यबस्था गरेका छौं, निर्माणका लागि आवश्यक सबै सहयोग गर्न तयार छौं,’ नगर प्रमुख बिष्टले भन्नुभयो–चित्लाङमा नै विश्वविद्यालय निर्माण हुने भएपछि स्थानीय निकै उत्साहित छन् ।

चालु आर्थिक वर्षभित्र ईआईए र फिल्डअफिस निर्माण गर्ने कार्य सम्पन्न गर्ने योजना विकास समितिको छ । निर्माणस्थलको अवलोकन, फिल्डअफिस निर्माण गर्ने स्थल र साइनबोर्ड राख्न समितिका परामर्शदातासहित ११ विज्ञ टोली चित्लाड आएको थियो । थानकोटबाट नजिक दुरीमा रहेको चित्लाङ प्राकृतिक प्रयोगशालाका रुपमा विद्यार्थीले उपयोग गर्नसक्ने विज्ञहरुले बताएका छन् ।

मकवानपुरको थाहानगरपालिका संघीय राजधानी काठमाडौंबाट नजिकको स्थानीय तह हो । काठमाडौंको थानकोटबाट ६ किलोमिटर सडक यात्रापछि थाहानगर–६ को सीमा चित्लाङ आउन सकिन्छ । मकवानपुरका स्थानीय तहमध्ये थानकोट–चन्द्रागिरि सडकमार्फत् छोटो दुरीमा काठमाडौंसँग जोडिने नगरपालिका थाहा हो ।

सरकारले विश्वस्तरको अनुसन्धानमूलक विश्वविद्यालय बनाउने लक्ष्य राखेको विश्वविद्यालयमा चार हजार विद्यार्थीले अध्ययन गर्न पाउने समितिले जनाएको छ ।

एमए माथिका अनुसन्धान र खोजका विषयमा अध्ययन÷अध्यापन हुने विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु गर्ने लक्ष्य लिइएको छ ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यबस्थापन, कानुन र न्यायलगायत विषय र क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुनेछ ।

सरकारले उक्त विश्वविद्यालय स्थापनासम्बन्धि विधेयकलाई यसअघिको संघीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । उक्त विधेयक समितिमा छलफलको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्