प्रदेश सरकारले खेलाडीको व्यावसायीक जीवनको संरक्षण गर्नेछ : मुख्यमन्त्री पौडेल



न्युज अफ नेपाल,  हेटौंडा ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली खेलाडीले गरेको प्रदर्शनको प्रशंसा गर्नुभएको छ ।

आइतबार एक सन्देशमार्फत् मुख्यमन्त्री पौडेलले नेपालले सागको शुरु अत्यन्तै सुखद्ढंगले गरेको र नेपाली खेलाडीले राम्रो खेलेको उल्लेख गर्नुभयो । ‘नेपाली खेलाडीको प्रदर्शन अत्यन्त सुखद् छ । विभिन्न विधामा विश्व कीर्तिमानसमेत राख्न सफल हुँदै पदक जित्न सफल खेलाडीलाई हार्दिक बधाई । बाँकी खेलबाट पनि सफल हुने विश्वाससाथ खेलाडीहरुलाई अग्रिम शुभकामना,’ मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमार्फत् उहाँले खेलक्षेत्र विकासका लागि प्रदेश सरकार लागिरहेको बताउँदै खेल विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा भनिएको छ–प्रदेश सरकार खेलकुदको दीर्घकालीन विकासका लागि नीतिगतरुपमा लागिरहेको छ । प्रदेशमा एक अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रशिक्षण प्रतिष्ठान, जिल्लामा रंगशाला एवम् स्थानीय तहमा खेलमैदान स्थापना र व्यबस्थापन, सबै विद्यालयमा खेलमैदानको व्यबस्था र निर्वाचन क्षेत्रमा कभर्डहल निर्माण कार्य जारी छ ।

‘आगामी दुई वर्षमा भौतिकरुपमा हामी सक्षम हुनेछौं, अनि प्रदेश सरकारले खेलाडीको व्याबसायिक जीवनको संरक्षण पनि गर्नेछ,’ उहाँले भन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्