अमेरिकी र दक्षिण कोरियाली निशस्त्रीकरण वार्ताप्रति सहमति



सोल, (एजेन्सी)। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन उत्तर कोरियासँगको आणविक समस्या समाधानार्थ वार्ताका लागि सहमत भएका छन्। यी दुई राष्ट्रपतिबीच शनिबार बिहान फोन वार्ता भएको दक्षिण कोरियाको राजधानी सोलस्थित सञ्चार माध्यमले जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियालीनेता किम जोङबीच सन् २०१८ को १२ जुनमा सिंगापुरमा पहिलो पटक ऐतिहासिकनिशस्त्रीकरण वार्ता भएको थियो।

ट्रम्प र मुनबीच उत्तर कोरियाका अनियन्त्रित आम विनाशकारी हातहतियार महत्वकांक्षाका कारण कोरियाली प्रायद्धीपको अवस्था झनझनै दयनीय हुँदै गएको भन्दै त्यसका लागि पनि जतिसक्दो चाँडै वार्ता गर्नुपर्नेमा सहमति भएको बताइएको छ।

यसअघि पछिल्लो समयमा अमेरिकाका राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ताका क्रममा निशस्त्रीकरणका लागि उत्तर कोरिया अघि बढ्ने सहमति भएको भनिएको भए पनि त्यसो हुन नसकेको पाइएको छ।

त्यसबेला किमले केही हदसम्म भए पनि उत्तर कोरियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी हटाउनका लागि राखेको प्रस्ताव ट्रम्पले अस्वीकार गरेपछि सो वार्ता असफल भएको थियो। ट्रम्पले पछिल्लो समयमा उत्तर कोरियाले धमाधम क्षेप्यास्त्र परीक्षण गर्न थालेपछि समस्या अझै चर्किएको प्रतिक्रिया दिएका थिए।

शनिबार बिहान ट्रम्प र मुनबीच भएको फोनवार्ता यसै विषयमा केन्द्रित रहेको बताइएको छ।दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका प्रवक्ता को मिन जुनले ट्रम्पले मुनलाई फोन गरेको पुष्टि गरेका छन्।

संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीच निशस्त्रीकरणसम्बन्धी वार्तामा अझै पनि ठोस प्रगति हुन नसकेको प्रतिक्रिया दक्षिण कोरियाले शुक्रबार मात्र दिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीच सन् २०१८ को १२ जुनमा सिंगापुरमा पहिलो पटक ऐतिहासिक निशस्त्रीकरण वार्ता भएको थियो।

त्यसबेला तिनीहरूबीच कोरियाली प्रायद्विपमा शान्ति स्थापना गर्ने सहमति भएको थियो। सो वार्तालगत्तै उत्तर कोरियाले सदाशयता प्रकट गर्ने क्रममा एउटा आणविक भट्टी नष्ट गर्दै गरिएका तस्वीरहरू पनि सार्वजनिक गरेको थियो।

तिनीहरूबीच गत २७ र २८ फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो चरणको वार्ता भएको थियो। त्यसपछि पुनः तिनीहरूबीच अप्रत्यासित रुपमा उत्तर र दक्षिण कोरियाबीचको सिमानामा भेट भएको थियो। सिंगापुर र हनोई वार्तामा भाग लिनुअघि कोरियाली नेता किम चीन पुगेर चिनियाँ राष्ट्रपति सी जिन पिङसंग भेटवार्ता गरेका थिए।

उत्तर कोरियासँगको वार्ताका लागि वातावरण तयार गर्ने उद्देश्यले यसवर्ष अमेरिका र दक्षिण कोरियाबीच वर्षेनी हुँदै आइरहेको संयुक्त सैनिक अभ्याससमेत स्थगित गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्