कुलमानको मुलुकमा ‘नो लाइट’



कुलमान घिसिङले दाउराले होइन बिजुलीले भात पकाउनोस् भनेर आह्वान गरिरहँदा धरहरा भने राजधानीका सडकमा रमिता हेरेर उभिइरहेको छ– कहिले टोलाउँछ, कहिले एक्लै खिसिक्क हाँस्छ।
घिसिङ प्राधिकरणका प्रबन्ध निर्देशक भएर आएपछि इन्भरटरलगायतका उपकरण आपूर्तिकर्ताहरू नराम्रोसँग रिसाएको त धरहरालाई थाहा थियो, तर सडकको चोक–चोकमा उभिने, मज्जाले धुलो पान गर्ने र ढाड दुखेर अँध्यारो मुख लगाउने ट्राफिक प्रहरीहरू पनि पो नराम्रोसँग रिसाएका रहेछन्।
त्रिपुरेश्वर जहाँ दशरथ रंगशालाबाट निस्केको ‘साग’को रागले चिटचिट पसिना निकाल्छ, त्यहाँ उभिएका प्रहरीहरू झोक्किइरहेका थिए, ‘कुलमानले नै बिजुली बालेर जे पकाउन मन छ पकाउन्, ट्राफिक लाइट नभएका कारण आफ्नो त ढाडै भाँचिइसक्यो !’

कुलमानले नभएको कुरा गरेका हुन् कि सरकार उनलाई गलत सावित गर्न प्रयास गरिरहेछ– सडकको ट्राफिक लाइट व्यवस्था नगरेर। संसारभर बत्तीको भरमा सवारी चलिरहेका हुन्छन्, प्रहरीको काम केबल बत्तीको आदेश पालना नगर्ने सवारी वा व्यक्तिलाई कारबाही गर्नु मात्र हुन्छ, तर हामीकहाँ भने प्रहरीले नै बत्ती पनि बन्नुपरेको छ।
जुन मुलुकमा फालाफाल बिजुली छ भनेर गफ गरिन्छ, त्यही मुलुकमा ट्राफिक लाइट छैन। यस्तो अवस्था देख्दा पनि धरहरा नहाँसे कहिले हाँस्ने ? तर, के गर्नु, धरहराको दाँतको उज्यालोले राजधानीका सबै सडकका ट्राफिक सोलारलाई चाहिने प्रकाश नपुग्ने !

प्रतिक्रिया दिनुहोस्