म्याराथन स्वर्ण नेपालमा फर्कियो 



नेपाल समाचारपत्र, काठमाडौं।
किरणसिंह बोगटीले दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष म्याराथनको स्वर्ण २४ वर्षपछि नेपालमा फर्काएका छन्। शनिबार भएको म्याराथन दौडमा किरणले २ घन्टा २१ मिनेट १७ सेकेन्डको समय लिँदै स्वर्ण हासिल गरेका हुन्। यो नेपालले सन् १९९५ मा भएको सागपछि पुरुष म्याराथनमा जितेको स्वर्ण हो।
त्यतिबेला भारतको मद्रासमा (हाल चेन्नाई) सम्पन्न सातौं सागमा नेपालका लागि टीका बोगटीले स्वर्ण जितेका थिए। साग म्याराथनमा नेपालका बैकुण्ठ मानन्धरले पहिलोदेखि तेस्रोसम्म स्वर्ण जितेर ह्याट्रिक गरेका थिए। किरणले भारतका जसपाल सिंहलाई ४० सेकेन्डले पछि पारेका थिए।
जसपालले २ घन्टा २१ मिनेट ५७ सेकन्डसहित रजत पदक जिते। भारतकै श्री सिंहले निर्धारित दुरी २ घन्टा २२ मिनेट ०७ सेकन्डमा पूरा गरेर कांस्य पदक हात पारे।नेपालका होमलाल श्रेष्ठले २ घन्टा २४ मिनेट ३१ सेकेन्डमा पूरा गरेका थिए।
रविना स्वर्णबाट चुकिन
नेपालकी रविना थापा फेन्सिङमा ऐतिहासिक स्वर्ण जित्नबाट चुकेकी छन्। फेन्सिङको महिलाको व्यक्तिगत स्पर्धाअन्तर्गत साबरको फाइनलमा बंगलादेशकी मुजिब फतिमासँग १५–१० ले पराजित भएपछि रविनाले रजतमै चित्त बुझाइन्।
महिला इपीमा भने नेपाली खेलाडी सेमिफाइनलमै स्तब्ध बने। फेन्सिङमा आइतबारदेखि टिम इभेन्टका प्रतिस्पर्धा शुरू हुनेछ। फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ।
गौरिकालाई रजत
१३औं (साग)अन्तर्गत पौडीतर्फ शनिबार सात स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा नेपालकी जलपरी गौरिका सिंहले रजतमै चित्त बुझाएकी छन्। भारतले सातै स्पर्धामा स्वर्ण पदक जितेको छ। ललितपुर स्थित सातदोबाटोको हिटिङ पौडी पोखरीमा योसमेत गरी भारतले १६ स्वर्ण पदक जित्न सफल भएको छ।
१ सय मिटर सर्ट कोर्सको ब्याक स्ट्रोकमा गौरिका स्वर्ण जित्नबाट चुकिन्। उनले निर्धारित दुरी १ मिनेट ३ दशमलव १५ सेकेन्डमा पूरा गरिन्।
तर उनले नेपालगन्जमा भएको ८औं राष्ट्रिय खेलकुदमा बनाएको १ मिनेट ७ दशमलव २२ को किर्तिमानमा सुधार गरेकी छन्। सो विधामा भारतकी मन्ना राजिव पटेलले १ मिनेट २ दशमलव ३५ सेकेन्ड समयमा दुरी पूरा गर्दै स्वर्ण जितिन्। द्
फुटबलमा भुटानको इतिहास
भुटान १३औं (साग)अन्तर्गत दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ। भुटानले साग फुटबलमा पहिलो पटक फाइनल पुगेर इतिहाससमेत बनायो।
भुटानले शनिबार दशरथ रंगशालामा भएको खेलमा श्रीलंकालाई ३–० ले पराजित गरेको हो। यो जितपछि ५ टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोविनको तालिकामा भुटानले शीर्षस्थान पनि कब्जा गरेको छ।
भुटानको चार खेलपछि ९ अंक भएको छ। नेपाल सात अंकसहित दोस्रो स्थानमा छ। नेपालले हिजै भएको खेलमा माल्दिभ्सलाई २–१ ले हराएको थियो। नेपालको जितमा अभिषेक रिजालले ४३औं र अनन्त तामाङले ५५औं मिनेटमा गोल गरे।
माल्दिभ्सका तर्फबाट इब्राहिम हुसेनले १८औं मिनेटमा गोल गरे। नेपालले फाइनलमा प्रवेश गर्न आज हुने बंगलादेशविरुद्धको खेलमा बराबरी खेले पनि पर्याप्त हुनेछ। बंगलादेश ४ अंकसहित तेस्रो स्थानमा छ। बंगलादेशलाई भने फाइनल प्रवेशका लागि जित नै आवश्यकता छ।

प्रतिक्रिया दिनुहोस्