सहकारीहरूको संस्थागत सुशासनमा जोड



नेपाल समाचारपत्र, ललितपुर।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आठौं स्थापना दिवस र सातौं वाषर््िाक साधारणसभा सम्पन्न भएको छ। सभामा संघले २ करोड चुक्ता पुँजी रहेको जनाएको छ।करिब ५० करोड रुपियँ सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड रुपियाँ लगानी रहेको जानकारी गराउँदै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले चालू आवबाट संघ नाफामा गएको बताउनुभयो।

उहाँले २५ अर्बभन्दा बढीको पुँजी परिचालन भएको बहुउद्धेश्यीय सहकारीहरू को दीर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताउँदै त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अघि बढेको जानकारी गराउनुभयो।

देशभर ४ हजार ३ सय ७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये केन्द्रीय संघअन्तर्गत १२ संघसहित ३ सय ३४ संघ संस्था संघमा आबद्ध छन्। अध्यक्ष भण्डारीले संघअन्तर्गत करिब ४५ हजारलाई रोजगारी दिएको बताउनुभयो। संघले सम्पत्ति शुद्धीकरण तालिम सञ्चालन, विनियमावली तयारी गरी लागू, निरीक्षण र अनुमगमनलाई निरन्तरता दिएको जानकारी गराउनुभयो।

६ बुँदे रणनीतिक लक्ष्यमा सदस्यता अभियान, पुँजी, बचत, ऋण कारोबार तथा लगानीमा वृद्धि, सेवा प्रवाह परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवा जस्ता विभिन्न सेवामा अभिवृद्धि, मानव स्रोत व्यवस्थापन तथा क्षमता अभिवृद्धि, पूर्वाधार विकास र संस्थागत सुशासन रहेका छन्। सभाको उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री पद्मा अर्यालले सहकारी संघसंस्था प्रविधियुक्त हुनुपर्नेमा जोड दिनुभयो।

पूर्वमन्त्री एवम् राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सरकारको आर्थिक वृद्धि दरको लक्ष्य पूरा गर्न संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रममा पूर्वमन्त्री एवं महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बास्कोटा, पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्