साग उ्घाटनले चिनिएको नेपाल



खेल कुनै एक विधा र विषय मात्र होइन। यो राष्ट्रको पहिचान हो, परिचय हो, गरिमा हो। यसर्थ पछिल्ला वर्षमा हामीले खेलकुदको एउटा नारा निरन्तर लगाइरहेका छौं– ‘खेल स्वास्थ्यका लागि, खेल राष्ट्रका लागि।’ हो, खेल स्वस्थ जीवनका लागि जति अपरिहार्य छ, देशको राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचानका लागि पनि उत्तिकै जरुरी छ।

नेपालले युवाहरूको सपनाको देशको रुपमा लिने अमेरिकालाई अरू केही जित्न सक्दैन। तर, नेपालले क्रिकेटमा अमेरिकालाई पनि हराउने सामथ्र्य राख्छ। र, नेपाल भन्ने राष्ट्र भूगोलमा सानो भए पनि खेलमा उत्कृष्ट छ भन्ने सन्देश अमेरिकन नागरिकमा पुगेको छ।

भारतको क्रिकेटले सिंगो विश्व तरंगित गर्छ, ब्राजिल, पोर्चुगलले फुटबलमार्फत विश्वमाझ देश चिनाएको छ। यसर्थ खेल सामान्य मनोरञ्जन र समय बिताउने अस्त्र मात्र होइन, यो अपरिहार्य विकास गर्नुपर्ने विधा हो।

खेलको बुझाइ, अपरिहार्यता र आकर्षणका विषयमा अझै पनि संकिर्णता र विरोधाभाषहरू भइरहेका बेला मुलुकको संघीय राजधानी काठमाडौंमा सागको भव्य समारोहबीच उद्घाटन भयो। दक्षिण एसियाली खेलकुद (साग) मा नेपालसहित भारत, बंगलादेश, भूटान, पाकिस्तान, माल्दिभ्स र श्रीलंका सहभागी छन्।

नेपालको आयोजनामा भइरहेको सागको उद्घाटन कार्यक्रम, भव्य तयारी, संयोजन, प्रस्तुति र व्यवस्थापनले सबै मुलुकको ध्यानाकर्षण गर्न सफल रह्यो। विश्वकपको उद्घाटन कार्यक्रमको झलकजस्तो लाग्ने नेपालको विविधतासहितको प्रदर्शन साँच्ची नै मन लोभिने खालको थियो।

नेपाली भएर एउटा नागरिकले त्यो कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्दा नेपाली मन, नेपाली पन त्यो कार्यक्रममा प्रशस्त भेटिन्थ्यो। मौलिकतासहितको प्रस्तुति, अभूतपूर्व व्यवस्थापनले नेपाली हुनुको गौरव अनुभूति भइरहन्थ्यो। साग आयोजना र उद्घाटनबाट नेपालले चाहेको बखतमा गर्न सकिने रहेछ भन्ने प्रसट सन्देश दिएको छ।

यसका अतिरिक्त खेल पूर्वाधार, खेलाडीहरूको अनुभव आदानप्रदान, पर्यटन प्रवद्र्धन अरू थुप्रै प्रत्यक्ष–परोक्ष लाभ नेपालले लिएको छ। थप लिन सक्ने प्रशस्त सम्भावना र आधारहरू छन्।

साग आयोजनाकै कारण राजधानीको रंगशालामा मात्र होइन, गण्डकी प्रदेशको राजधानी भनेर चिनिने पोखरासहित विभिन्न स्थानमा पर्याप्त पूर्वाधारहरूसमेत निर्माण गरिएका छन्।

यो छोटो समयमै गरिएको महत्वपूर्ण उपलब्धि हो। यी र यस्ता पूर्वाधार यति छोटो समयमै निर्माण गर्न सक्ने क्षमता हामीसँग छ भन्ने सन्देश पनि अर्को उपलब्धि हो। अब अहिले साग आयोजनाका निमित्त निर्माण गरिएका पूर्वाधारहरूको यथोचित संरक्षण, व्यवस्थापन गरेर खेलमैत्री वातावरण तयार गर्न भोलिका दिनमा अनगिन्ती खेल उपलब्धि हासिल हुने निश्चित छ।

– समीप अर्याल, पोखरा।

प्रतिक्रिया दिनुहोस्