पर्यटन वर्षको चिसो पूर्वसन्ध्या



पर्यटन वर्ष शुरू हुनै लागेका बेला यसको तयारीलाई लिएर चिसो प्रतिक्रिया बाहिर आउन थालेका छन् । कुनै तयारी नै छैन, कसरी पर्यटन वर्ष सफल पार्न सकिन्छ भन्नेजस्ता अभिव्यक्तिहरू सरोकारवालास्वयम्बाट सुनिन थालिएको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक जामको अवस्था मात्र हटाउन नसकिरहेका बेला पर्यटन वर्ष सफल हुन नसक्ने व्यवसायीहरूको धारणा छ ।

एकातिर पूर्वाधार छैन– विमानस्थलदेखि पर्यटकका लागि बस्ने खाने व्यवस्था मिलाउन सकिएको छैन, राजधानी अझै पनि फोहोर र प्रदूषणका कारण समस्यामा छ, जहाँ पर्यटक पाल्ने होटेल छन्, अर्कातिर पर्यटक आकर्षित हुने ठाउँहरूमा होटेलको व्यवस्था नै पर्याप्त छैन ।

यही आधारमा पर्यटन क्षेत्रका व्यवसायीहरूले हतारमा भ्रमण वर्ष घोषणा गरियो भन्न थालेका छन् । पर्यटन वर्षको पूर्वसन्ध्यामा चिसो प्रतिक्रियाहरू सर्वत्र सुन्न थालिएका छन् जो सुखद होइन ।

विश्वका विभिन्न ३० भन्दा बढी मुलुकमा नेपाली राजदूतावास छ, करिब पाँच दर्जन कन्सुलेट अफिस छन् । त्यसै गरी, नेपालीमा विदेशी २६ राजदूतावास छन् र ४७ कन्सुलेट कार्यालय छन् । पर्यटन तथा नागरिक उड्डयन मन्त्राले देशी–विदेशी कूटनीतिक निकायहरूलाई परिचालन गरेर पर्यटकको परिमाण बढाउने, लक्ष्यअनुसारको २० लाख पर्यटकको परिमाण नघाउने काममा जुटेको छ । तर उसको प्रयास र्याङमा ठ्याङ नमिलेको खेलजस्तो हुनपुगेको छ ।

खास गरी पूर्वाधारको अभावका कारण र्याङमा ठ्याङ नमिलेको हो । पर्यटनका सम्बन्धमा साहित्यदेखि संगोष्ठीसम्मले योगदान दिएको नेपालको इतिहास छ । विसं १५३० मै राजा गगनीराजको यात्रासम्बन्धी वर्णन गरिएको सामग्री पढ्न पाइन्छ । नेपालमा पर्यटन साहित्यको पाँच सय वर्षभन्दा लामो इतिहास देखिन्छ । धार्मिक प्रयोजनका लागि तीर्थयात्राको वर्णन विश्वमै पुरानो प्रचलन हो ।

नेपालका राजदूतहरूलाई नेपालका सम्बन्धमा पर्याप्त जानकारी नभएको, अथवा पर्यटकलाई आकर्षित गर्ने हदसम्मको बोध नभएको अर्को खड्किने विषय हो । नेपालमा पर्यटकलाई मनपर्ने वस्तुको सूची बनाउने हो भने हजार विषय फेला पर्लान्, तर विदेशमा रहेका नेपाली सरकारी प्रतिनिधि केही बताउन सक्तैनन् । पर्यटकीय रुटहरू कुन–कुन हुन्, त्यहाँ के–कस्ता सुविधा पाइन्छन् ।

नेपाल संसारमा यस्तो देश हो यति सानो देशको एक सय २० किलोमिटरको चौडाइ, हजार किलोमिटरको लम्बाइमा एक सय २३ वटा भाषा बोल्ने मान्छे छन् । एक सय २५ जातजाति छन् । संसारमा भएका नेपालमा नपाइने दुईवटा मात्र कुरा सामुद्रिक परिस्थिति र ध्रुवीय परिस्थिति हामीकहाँ पाइँदैन, बाँकी सबै कुरा हामीकहाँ पाइन्छन् । यस्तो देश छ भनेर हाम्रा राजदूत भनिएका यी राज्यले पालेका सेता हात्तीहरूले भनिदिए मात्रै पनि पर्यटकको ओइरो लाग्छ ।

देशको मार्केटिङ गर्ने काम राजदूतहरूकै हो । हिमालको देश, सगरमाथाको देश, गौतम बुद्धको देश, विविध कला र संस्कृतिको देश, अनौठा वन्यजन्तु र चराचुरुंगीको देशलाई चिनेर मार्केटिङ गर्नसकिएको छैन भने सरकारले पूर्वाधार नै तयार पारिदिएको छैन । त्यसैले पर्यटन मन्त्रालय मात्र होइन सिंगो सरकार नै यस विषयमा केन्द्रित भएर गम्भीरताका साथ पर्यटन वर्ष सफल बनाउन लाग्नु आवश्यक भएको छ ।

प्रतिक्रिया दिनुहोस्