एम्बुलेन्स र ट्रक ठोक्कियो, दुईको मृत्यु



बाँके, (नेस)।
सुत्केरी बोकेर गएको एम्बुलेन्स र ट्रक ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ। नेपालगन्जबाट तीन दिने सुत्केरी बोकेर दाङतर्फ जाँदै गरेको रा १ झ १६१ नम्बरको एम्बुलेन्स र पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ८ ख ५४३२ नम्बरको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिकाको जिरो प्वाइन्ट नजिक ठक्कर खाँदा दुई जनाको मृत्युभएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक चित्रबहादुर सुनार र तीन दिने शिशु (छोरा)को मृत्यु भएको छ। सुत्केरी मालती खड्का र उनका श्रीमान तिलकराम खड्का घाइते भएका छन्। दुर्घटनालगत्तै घाइतेलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो।
तीनदिने शिशुको लगत्तै र एम्बुलेन्स चालकको केही घण्टापछि मृत्यु भएको हो।सुत्केरी मालतीको अवस्था गम्भीर रहेको छ। उनका श्रीमान् तिलकरामको अवस्थामा सामान्य रहेको छ। प्रहरीले ट्रक, एम्बुलेन्स नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।
यसैगरी, शुक्रबार साँझ गुनानामा भएको दुर्घटनाका घाइतेको मृत्यु भएको थियो। भे८प ११५४ नम्बरको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका मो.जाविर खाँको उपचारको क्रममा भारतको लखनऊमा मृत्यु भएको हो। दुर्घटनालगत्तै उपचारका लागि भेरी अस्पतालमा ल्याइए पनि अस्पतालले थप उपचारका लागि लखनऊ रिफर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्