नेकपाले छान्यो रामेछापका आठ स्थानीय तह हाक्ने नेता, ६०-४० मै मिल्यो कुरा



रामचन्द्र वि.क., रामेछाप ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकीकरण भएको लामो समयपछि नेकपा रामेछापले आठ स्थानीय तहको नेतृत्व टुंग्याएको छ ।

शुक्रबार नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानको अध्यक्षतामा बसेको बैठकले आठै स्थानीय तहको अध्यक्ष, सचिव र तीन कार्यालय सदस्यसहितको नेतृत्व टुंग्याएको हो ।

लामो समयपछि टुंगिएको नेतृत्वमा जिल्लाको सदरमुकामसमेत रहेको मन्थली नगरपालिकासहित पाँच स्थानीय कमिटिको अध्यक्षमा पूर्व एमालेका नेताहरु आएका छन् भने सचिवमा पूर्व माओवादी केन्द्रका नेताहरु परेहका छन् ।

त्यस्तै रामेछाप नगरपालिकासहित तीन स्थानीय कमिटिको अध्यक्षमा पूर्व माओवादी केन्द्रका नेता र सचिवमा पूर्व एमालेका नेता परेका छन् । यसरी नेतृत्व विभाजनमा पूर्व एमालेको भागमा ६० प्रतिशत र पूर्वमाओवादीको भागमा ४० प्रतिशत परेको छ । उमाकुण्ड गाउँपालिकाको सचिवबाहेक सबै पालिकाको अध्यक्ष र सचिवमा महिला परेका छैनन् ।

जिल्ला इन्चार्ज देवशंकर पौडेल, सह–इन्चार्जद्वोय श्याम कुमार श्रेष्ठ, कैलाश ढुङ्गेल र पार्टी सचिव शान्ति प्रसाद पौडेलसहितको बैठकले नेतृत्वको टुंगो लगाएको सचिव पौडेलले जानकारी दिनुभयो ।

“अध्यक्ष र सचिव पदमा महिला त एक जना मात्रै पर्नुभएछ?“ नी भन्ने प्रश्नमा प्रदेश तीनका सांसद समेत रहनुभएका सचिव पौडेलले भन्नुभयो– ‘पूर्वएमाले र पूर्वमाओवादीमा तत्कालिन पार्टी नेतृत्वमा रहेका अध्यक्षहरुलाई नै अहिले अध्यक्ष र सचिव बनाउँने दुई समूहबीच भएको सहमती अनुसार कमिटि गठन गरिएको हो । त्यतिबेला पनि महिला हुनुहुन्थेन त्यसैले पनि पर्नुभएन । आगामी अधिवेशनमा महिला नेतृत्वलाई पनि दिन्छौं ।’

यस्तो छ रामेछापका आठ स्थानीय तह हाक्ने नेतृत्व

सचिव पौडेलका अनुसार बैठकले मन्थली नगरपालिकाको अध्यक्षमा कृष्णहरी अधिकारी र सचिवमा दिपक प्रसाईलाई चयन गरेको छ । त्यस्तै कार्यालय सदस्यहरुमा निलकण्ठ श्रेष्ठ, रामबाबु घिमिरे र राजु कार्की परेका छन् ।

मन्थली नगरपालिकाको अध्यक्षको जिम्मेवारी पाउँने अधिकारी मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका वडाध्यक्षसमेत हुनुहुन्छ । रामेछाप नगरपालिकाको अध्यक्षमा मोतीलाल तामाङ र सचिवमा होतराज ढकाल चयन हुनुभएको छ भने कार्यालय सदस्यहरुमा रोशन पाख्रिन, नरेशबाबु श्रेष्ठ र इन्दिरा बख्रेल चुनिएका छन् ।

त्यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर कार्की र सचिवमा सरिता रसाइली चयन भएका छन् भने ङावा तिण्डु शेर्पा, लिला माया सुनुवार र अमृत तामाङ कार्यालय सदस्यहमा परेका छन् ।

गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा खड्ग बहादुुर सुनुवार र सचिवमा प्रज्ञान खड्का रहेका छन् भने कार्यालय सदस्यहरुमा महेश प्रधान, दिपक कार्की र इन्द्र बहादुर तामाङलाई चयन भएका छन् । पार्टीको जिम्मेवारी पाउनुभएका सुनुवार गाउँपालिका अध्यक्ष समेत हुनुहुन्छ ।

उता लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा उद्धव प्रसाद कडेरिया र सचिवमा धु्रब कुमार कार्की चयन भएका छन् त्यस्तै कार्यालय सदस्यहरुमा लिला बहादुर बस्नेत, काजी बहादुर थापामगर र उद्धवप्रसाद पौडेल रहेका छन् ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ र सचिवमा रमेश तामाङ रहेका छन् भने कार्यालय सदस्यहरुमा रमा घिसिङ, पुष्कर कुमार कार्की र शम्भु तामाङ चयन भएका छन् ।

सुनापति उँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन र सचिवमा रामकृष्ण लामा चयन हुँदा कार्यालय सदस्यहरुमा सोमप्रसाद सापाकोटा, रामकृष्ण घिसिङ र रोज ग्यापक परेका छन् ।

त्यस्तै दोरम्बा गाउँपालिकाको अध्यक्षमा हिरा श्रेष्ठ र सचिवमा कुमार कडेल चयन भएका छन् भने कार्यालय सदस्यहरुमा मेचमान योञ्जन, दावाशम्बु शेर्पा र प्रविण कुमार मोक्तान रहेका छन् ।

नेकपा रामेछापले विभिन्न कमिटिको नेत्वुत टुंग्याए पनि स्थानीय तहको पूर्ण कार्यसमिति, वडाको नेतृत्व चयन, जिल्ला सचिवालय लगायतका काम बाँकी नै रहेका छन् । बाँकी रहेका काम पनि चाँडै सक्ने गरी पार्टी लागेको सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्