मेलमिलाप समाज कास्कीको अध्यक्षमा पण्डीत



न्युज अफ नेपाल, पोखरा ।

मतदाता नामावली विवादले गत कात्तिक ३० गते स्थगित मेलमिलाप समाज कास्कीको शनिबार सम्पन्न चौंथो अधिवेशनमा अधिवक्ता हरिप्रसाद पण्डित भारी मतान्तरसहित विजय हुनु भएको छ ।

कूल ३७ मतदाताले भाग लिएको अधिवेशनमा २७ मत प्राप्त गरी अधिवक्ता पण्डित अध्यक्षमा चुनिनु भएको हो । पण्डितका प्रतिद्वन्दी निवर्तमान अध्यक्ष अधिवक्ता सोमबहादुर श्रेष्ठले ६ मत मात्र पाउनु भएको छ । उपाध्यक्षमा २३ मत प्राप्त गरी हर्कबहादुर रेग्मी विजय हुनु भएको छ । रेग्मीका निकटम प्रतिद्वन्दी कर्णबहादुर थापाले १० मत पाउनु भयो ।

सचिव पदमा निवर्ततन सचिव रामप्रसाद आचार्य सहसचिवमा सुनिता भण्डारी र कोषाध्यक्ष सीतादेवी सुवेदी निर्विरोध निर्वाचित हुनु भएको छ् । त्यसै गरी सदस्यमा प्रतिभा अधिकारी, गणेशबहादुर ढकाल, टौबहादुर गुरुङ, सिर्जना सापकोटा, इन्द्रदत्त बराल, प्रभाश पराजुली, राजेन्द्र सेन ठकुरी र हुमादेवी आचार्य निर्वाचित हुनु भएको छ् ।

यसअघि कात्तिक ३० तोकिएको अधिवेशन निवर्तमान अध्यक्ष सोमबहादुर श्रेष्ठले मतदाता नामावलीमा हरिप्रसाद पण्डितको नाम हटाएपछि समाजको विवाद उच्च अदालत पोखरामा पुगेको थियो ।

अधिवक्ता हरिप्रसाद पण्डितले निवर्तमान अध्यक्ष सोमबहादुर श्रेष्ठ, मेलमिलाप समाजका केन्द्रीय अध्यक्ष शोभा बस्नेत र निर्वाचन समति विरुद्ध उत्प्रेषण र पारमादेशको माग गर्दै श्री उच्च अदालत पोखरामा रिट निवेदन दिनु भएको थियो ।

मंसिर ११ गतेको भएको पेशीमा सो रिटमाथि सुनाई गर्दै उच्च अदालत पोखराले मंसिर २१ गते हुने निर्वाचनमा रिट निवेदक हरिप्रसाद पण्डितलाई भाग लिन र उम्मेदार बन्न दिनु भनी विपक्षीका नाउँ अन्तरिम आदेश दिएको थियो ।

सो रिट निवेदकमा रिट निवेदक हरिप्रसाद पण्डित र उहाँको तर्फबाट अधिवक्ता हरिप्रसाद भट्टराई बहस गर्नु भएको थियो भने विपक्षीका तर्फबाट स्वयं विपक्षी समेत रहनु भएका अधिवक्ता सोमबहादुर श्रेष्ठ र अधिवक्ता गंगा सुवेदीले बहस गर्नु भएको थियो ।

अदालतको अन्तरिम आदेश बमोजिम भएको निर्वाचनमा रिट निवेदक समेत रहेका अधिवक्ता पण्डित भारी मतान्तरले विजय हुनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष पण्डितले अदालतको आदेशबाट आफूले न्याय पाएको प्रतिक्रिया दिनु भयो । उहाँले मतदाताले अमूल्य मत दिएर विजय गराउँदा सत्यको विजय भएको भन्दै अधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्दवाद दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्