पक्की पुलमा कच्ची कामः रेक्टिफिकेसनमार्फत गल्ती सुधार्दै निर्माण व्यवसायी



शिक्षा पन्त, लमजुङ ।

लमजुङको भोटेओडार–बेलघारी–भार्ते सडकखण्ड अन्तर्गत मस्र्याङ्दी नदीको पक्की पुलको ‘रेक्टिफिकेसन’ (सुधार) हुने भएको छ ।

पुल निर्माणमा त्रुटि भएको फेला परेपछि त्यसलाई सुधार गर्न ‘रेक्टिफिकेसन’ गर्न लागिएको हो । यद्यपि, पुल चार वर्षदेखि चलिरहेको छ ।

यो पुलको ‘रेक्टिफिकेसन’ चार महिनाभित्र सक्ने गरी निर्माण व्यवसायी सहमत भएका छन् । पहिले एप्रोच रोड र मर्स्याङ्दीमा डाइभर्सन बनाएर मात्रै पुल सुधार गर्ने गरी सहमति भएको प्यासिफिक निर्माण कम्पनीका प्रबन्ध निर्देशक ठाकुर कँडेलले बताउनुभयो ।

प्रशासन, स्थानीय तह, डिभिजन सडक कार्यालयबीच चार महिनामा त्रुटि सच्याउने गरी सम्झौता भएको उहाँको भनाई छ । सहमतिअनुसार १५ चैतसम्म पुल निर्माण पूरा गर्नुपर्ने छ ।

यो अवधिमा सडक डिभिजन कार्यालय दमौली, निर्माण व्यवसायी ठाकुरप्रसाद कँडेलको तर्फबाट पुल निर्माण नरोक्ने र जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारीबाट समन्वय र अनुगमन हुनेछ ।

पुलसम्म पुग्ने ‘एप्रोच रोड’ बनाउन, सडक चौडा गर्न र समन्वय गर्न वडाध्यक्ष, जनप्रतिनिधि तथा तत्कालीन पुल सहयोग तथा समन्वय समितिले सहयोग गर्नेछन् । सम्बन्धित निर्माण व्यवसायीबाट सडकको इस्टमेटअनुसार काम पूरा गर्ने निर्णय भएसँगै पुलको ‘रेक्टिफिकेसन’ अगाडि बढाउन स्थानीय सहमत भएको समितिका तत्कालीन उपाध्यक्ष रामप्रसाद पौडेलले बताउनुभयो ।

जिल्लाको पूर्वी क्षेत्र जोड्ने मर्स्याङ्दी नदीमाथि बनाइएको पुल २ वर्षमा सक्ने गरी निर्माण कम्पनीले तत्कालीन पश्चिमाञ्चल सडक डिभिजन कार्यालय, दमौलीसँग २ फागुन २०६४ सालमा सम्झौता गरेको थियो । पुलको लम्बाइ ६० मिटरको छ ।

तत्कालीन पुल निर्माण समितिका अध्यक्ष शंकरप्रसाद अधिकारीका अनुसार भ्याटबाहेक पाँच करोड ५४ लाख ९६ हजार नौ सय २४ रुपैयाँ ५० पैसामा निर्माण कम्पनीले जिम्मा लिएको थियो । प्राविधिक त्रुटिका कारण यस पुलको अहिलेसम्म हस्तान्तरण र उद्घाटन हुन सकेको छैन ।
यसकारण रेक्टिफिकेसन
सडक डिभिजन कार्यालय, दमौलीका प्रमुख विष्णुप्रसाद काफ्लेका अनुसार पुल निर्माणका क्रममा १६ एमएमको पाता राख्नुपर्ने ठाउँमा १२ एमएमको पाता र १२ एमएमको पाता राख्नुपर्ने ठाउँमा १६ एमएमको पाता राखिएका कारण ‘रेक्टिफिकेसन’ गर्न लागेको हो । निर्माण कम्पनीका अनुसार निर्माण कम्पनीले अझै ३ करोड ७५ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । पुलको प्राविधिक त्रुटि सच्याउन पुल पुनर्निर्माण अघि बढाइ चार महिनाभित्रै काम सक्ने निर्माण कम्पनी प्रतिनिधि, निर्माण व्यवसायी ठाकुरप्रसाद कँडेलले बताउनुभयो । उहाँले भन्नुभयोे, ‘अब चार महिनाभित्र पुल पुनर्निर्माण सक्ने गरी काम गर्छौँ ।’२०७१ सालबाट पुलबाट सवारीसाधन गुडिरहेका छन् । महालक्ष्मी, आशिष, प्यासिफिक, माछापुच्छरे उत्तम जेभीले पुल निर्माणको जिम्मा लिएका थिए । करिब ८० प्रतिशत पुल बनिसकेपछि पुल मस्र्याङ्दीमा खसेको थियो । म्याद थप गरी पुल निर्माणकै क्रममा १ असार २०६८ मा पुल भाँचिँदा २ जना कामदारको मृत्यु भएको थियो । त्यसपछि पुल उठाएर निर्माण सकेको भनी ठेकेदारले डिभिजन सडक कार्यालयमा रकम भुक्तानी मागेको थियो । पुल निर्माण गर्दा नयाँ सामग्री प्रयोग गर्नुपर्नेमा भाँचिएकै सामग्री मर्मत गरेर राखिएको थियो । निर्माण कम्पनीले पुल निर्माण सकेको दाबीसहित जेठ २०७२ बाट काम छोडेको हो ।समयमा पुल निर्माण नसकेपछि ठेकेदारलाई १० प्रतिशत हर्जाना तिर्न लगाएको डिभिजन सडक कार्यालय दमौलीका सिनियर डिभिजन इन्जिनियर विष्णुप्रसाद काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्