आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही अपरिहार्यः सभापति देउवा



यमलाल भुसाल, बुटवल ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही अपरिहार्य रहेको खुलासा गर्नु भयो । सभापति देउवाले निर्वाचनमा अन्तरघातीलाई कारवाही नगरेसम्म कुनै पनि निर्वाचनमा विजयी हुन नसक्ने बताउनु भयो ।

नेपाली काँग्रेसको सिद्धार्थनगर नगर समितिको भेलालाई शनिवार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अन्तरघात रहदाँसम्म पार्टी उभो लाग्न नसक्ने भन्दै अन्तरघातीलाई पार्टीबाट कारवाही गरेरै छाडने दोहोराउनु भयो ।

‘पार्टी भित्रै बस्ने, पार्टीलाई हराउने त्यसरी पार्टी चल्दैन’उहाँले भन्नु भयो, ‘अन्तरघातीलाई कुनै पनि हालतमा बचाउनु हुदैन, कारवाही नभएसम्म अन्तरघात रोकिदैन त्यसैले कारवाही गरेरै छोडिन्छ ।’

हालै सम्पन्न उपनिर्वाचनमा पंचायतकाल देखि पराजित हुदै आएको स्थानमा अहिले पार्टी विजयी भएको बताउँदै जनताको जनाधार काँग्रेससँगै रहेको भन्ने सन्देश दिएको उहाँको कथन थियो ।

उहाँले दाङ र पोखराको पराजयलाई भने सहानुभुतीको मतले काम गरेको हुन सक्ने बताउनु भयो ।

‘दुवै स्थानमा महिलाले जित्नुभयो । उहाँहरुसँग सहानुभुतीको मत पनि थियो’ उहाँले भन्नु भयो, ‘तर, पनि सहानुभुती मतले मात्रै हो वा अन्य कारण पनि छ त्यस विषयमा पार्टी भित्र गम्भिर छलफल हुन्छ ।’

कार्यक्रममा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्ला काँग्रेसको किल्ला हुने दावी गदै कहिले काही मतपरिणाम कमजोर जस्तो देखिएपनि काँग्रेसको बाहुल्यता प्रमाणित गरेरै छाडने दावी गर्नु भयोे ।

भेलामा पार्टीले ४४ जना जेहेन्दार विद्यार्थीलाई ४४ वटा साइकल र अशक्तलाई ५ वटा विह्ल चेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्