पुरुष क्रिकेटमा बांग्लादेशसँग नेपाल ४४ रनले पराजित



न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल बांग्लादेशसँग ४४ रनले पराजित भएको छ ।

कीर्तिपूरको त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमा सीमित भयो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ र अविनाश बोहोराले १३ रन बनाएका थिए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका सौम्य सरकार, सुमन खान, तनवीर इस्लाम र महेदी हसनले समान २(२ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। बंगलादेशका लागि नजमुल हुसैन शान्टोले सर्वाधिक ७५ रन बनाए । त्यस्तै आफिफ हुसैनले २८ बलमा ५२ रन प्रहार गरेका थिए।

नेपालका पारस खड्काले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्