घुस लिँदै गरेको फोटो खिच्दा दुई पत्रकारलाई कर्मचारीले कार्यालयमा थुने



न्युज अफ नेपाल, सिरहा ।

नेपाल भारत सीमामा पर्ने जनकपुरधामस्थित जटही छोटी भन्सारका कर्मचारीले पत्रकारलाई कार्यालयमा थुनेर दुव्र्यवहार गरेका छन्। जटही भन्सारका कार्यालय सहयोगी रामबहादुर कापरले सेवाग्राहीसँग घूस लिँदै गरेको फोटो खिच्दा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य सन्तोष बराइली र नेपाल समाचारपत्रका सिरहा संवाददाता सुभेन्दर दासलाई त्यहाँ कार्यरत कर्मचारीले दुव्र्यवहार गरेका हुन्।

कार्यालय सहयोगीले जटही छोटी भन्सारमा खुलमखुला घूस लिने गरेको जनगुनासो बढेपछि पत्रकार बराइली र दास स्थलगत रिपोर्टिङका लागि भन्सार कार्यालय पुगेका थिए। उक्त भन्सार कार्यालयमा कार्यारत सहयोगीहरू कापर, वैजनाथलाल कर्ण, नीरबहादुर कटुवाल र विजय मण्डलले सेवाग्राहीसँग अनाधिकृतरूपमा उठाएको पैसा प्रत्येक दिन बेलुकी सबै कर्मचारीलाई दामासाहीमा बाँड्ने गरेको बताएका छन्।

कार्यालय सहयोगीका अनुसार जटही छोटी भन्सारमा नायब सुब्बा श्याम मण्डल प्रमुख छन्। प्रमुख मण्डल तालिमको सिलसिलामा काठमाडौं गएको बताइएको छ। त्यस्तै नायब सुब्बा नवीनकुमार पाण्डे उक्त छोटी भन्सारका इन्चार्जका रूपमा कार्यारत छन्। त्यस्तै अर्का नायब सुब्बा अहमद रजा अन्सारी पनि यही छोटी भन्सारमा कार्यारत छन् भने राजकिशोर साह कम्प्युटर अपरेटरका रूपमा कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्