नेपाली खेलाडीहरुको सुखद सुरुवात



कविरस शर्मा, काठमाण्डौ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिंगतर्फ शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालका सुशील थापामगर, भूपेन्द्र थापामगर र सनिल शाहीले जित हासिल गरी सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार ललितपुरको सातदोबाटोमा भएको पुरुष ४९ केजी फ्लाई वेटतर्फ श्रीलंकाका मुटुनाकापा पीजीलाई अंकको आधारमा हराउंदै सुशीलले सेमिफाइनलमा स्थान पक्का गरेका प्रवेश हुन् । त्यस्तै ६० केजी तौल समूहको खेलमा भूटानका निमा दोर्जीलाई अंककै आधारमा पराजित गर्दै नेपालका सनिल शाहीले पनि अन्तिम चारमा स्थान बनाए ।

त्यस्तै ६४ केजीको भिडन्तमा नेपालका भूपेन्द्र थापा मगरले भूटानका दोर्जी वाङ्दीलाई पहिलो राउन्डमा नै आरएससीको आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । त्यसैगरी ७५ केजी तौल समूहको खेलमा नेपालका दिपक श्रेष्ठ भने भारतका अंकित खतानासंग तेस्रो राउन्डमा नकआउटको आधारमा पराजित भए ।

त्यसैगरी पुरुष ९१ केजीभन्दा माथिको तौल समूहमा भने नेपालका आशिष दुवाडी र महिला ६४ केजी तौल समूहमा पूनम रावलले बाइ पाएर सोझै फाइनलमा स्थान पक्का गरेका छन् । योसंगै बक्सिंगमार्फत् नेपालले दुई रजत पक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्